धनगढी । आफ्नै जिल्लामा फलेको ‘अर्ग्यानिक’ स्याउ उपभोक्ताको रोजाइमा पर्दा बाजुराका किसान धनबहादुर रावल दङ्ग छन् । नजिकिएको चाडपर्वका समयमा स्याउको माग बढेपछि उनी यतिबेला बिक्रीका लागि धनगढी पुगेका छन्।
'बिक्रीका लागि बुधबार धनगढी ल्याइपुर्याइएको चार सय १७ पेटी (छ हजार दुई सय ५५ किलो) स्याउ दुई दिनमै बिक्री भइसक्यो,' उनले भने, 'स्याउखेतीमा लागेका किसानले उत्पादन क्षेत्रमा उचित मूल्य नपाउँदा भने केही खल्लो महसुस भएको छ ।'
वर्षासँगै गएको पहिरोले बाजुरा–अछाम सडकखण्ड अवरुद्ध हुँदा उनले कालिकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया हुँदै कैलालीको धनगढीमा अर्ग्यानिक स्याउ बिक्रीका लागि ल्याएका हुन् ।
आफ्नै प्रदेशको बाटो अवरुद्ध हुँदा स्याउको बजार खोज्न कर्णाली र लुम्बिनी प्रदेशका जिल्ला हुँदै ट्रकमार्फत ढुवानी गरेर धनगढी पुर्याउनु परेको किसानको गुनासो छ ।
बाजुरा स्वामीकार्तिक गाउँपालिकाका किसान रावलको बारीमा रोपिएका एक हजार एक सय स्याउका बोटमध्ये यस वर्ष तीन सय बोटमा स्याउ फलेको थियो । फलेको स्याउ धनगढी बजारसम्म पुर्याउन एक ट्रकको ढुवानी भाडा ७० हजार परेको थियो ।
उत्पादन क्षेत्रमा सम्बन्धित किसानले भने प्रतिकिलो ४० मात्रै पाउने गरेका छन् । यो स्याउ धनगढी बजारमा भने एक सय २० मा बिक्री भएको छ । बाजुराबाट यसपालि सुर्खेतमा तीन ट्रक, छिन्चुमा दुई र कैलालीको बौनिया र धनगढीका लागि एक–एक ट्रक स्याउ बजारीकरणका लागि ल्याइएको विक्रेताको भनाइ छ ।
किसान दानबहादुरले सडकको भरपर्दो सुविधा नहुँदा उत्पादित स्याउ बजारसम्म पुर्याउन मुस्किल भएको बताए । त्यहाँ उत्पादित स्याउ कतिपय समयमा बिक्री नहुँदा त्यसै सडेर खेर जाने र पशुचौपायालाई खुवाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
बाजुराको हिमाली भेग पाण्डुसैन, बुढीनन्दा, स्वामीकात्तिक र जगन्नाथ गाउँपालिका अर्ग्यानिक स्याउ उत्पादनका लागि प्रख्यात छन् । स्याउको बजारीकरणमा भइरहेको समस्यासँगै व्यापारीले यो स्याउ बजारसम्म पुर्याउन चर्को ढुवानी भाडा तिर्नुपरेको छभने किसानले उचित मूल्य पाउन सकिरहेका छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ असोज २०८१, ०७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुस्ताङमा स्याउ कुहिएर क्षति बेहोर्नुपर्ने समस्या हट्यो
जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन
जुम्लामा स्याउ बेचेर ६१ करोड रुपैयाँ भित्रियो
मुस्ताङमा फल्यो अहिलेसम्मकै धेरै स्याउ, किसानले भित्र्याए ९२ करोड
सडक अभावले गोरखामा कुहिँदै करोडौँको स्याउ
दशैंलाई कोसेली मुस्ताङी स्याउ