हनुमानढोकामा भित्र्याउन गोरखाबाट पठाइयो फूलपातीसहितको डोली

सफल खबर संवाददाता

विहीबार, २४ असोज २०८१, १३ : २४
हनुमानढोकामा भित्र्याउन गोरखाबाट पठाइयो फूलपातीसहितको डोली

काठमाडौ । गोरखा दरबारस्थित दशैंघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । 

बिहीबार बिहान शुभसाइतमा दरबारका सुसारेहरूले विधिपूर्वक पूजाअर्चना गरी हनुमान ढोका दरबारका लागि फूलपाती पठाएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले बताए ।

बाजागाजासहितको र्‍याली निकालेर गोरखा दरबारबाट फूलपाती पठाइएको हो । फूलपाती काठमाडौंको हनुमान ढोका दरबारमा पुर्‍याइएपछि बिहीबार साँझ हर्कबढाइँका साथ हनुमान ढोका दरबारमा भित्र्याउने प्रचलन  छ ।

गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौंको हनुमानढोका दरबारबाट राजकाज शुरू गरेदेखि हरेक वर्ष बडादशैंको सातौँ दिन गोरखा दरबारको दशैंघरबाट फूलपातीसहितको डोली हनुमानढोका दरबारमा भित्र्याउने प्रचलन रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस