प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा बुढानिलकण्ठमा नयाँ रिसोर्टको उद्घाटन

सफल खबर संवाददाता

बुधबार, २३ असोज २०८१, १९ : ५२
प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा बुढानिलकण्ठमा नयाँ रिसोर्टको उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बुढानीलकण्ठ-१, मुहानपोखरीस्थित नवनिर्मित होलिडे इन रिसोर्टको आज उद्घाटन गरेका छन् । 

कार्यक्रममा प्रधानमन्त्री ओलीले सो रिसोर्टले मुलुकको पर्यटन, रोजगारी र सेवा क्षेत्र बढाउने भएकाले यसको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार हुनुपर्ने बताए ।

उनले पैसा भएपछि त्यसको सदुपयोग र नयाँ सोचसहित उद्यमशीलता र व्यावसायिकताको विकास हुने गरी काम गर्नुपर्ने बताउँदै यस्ता होटेलले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताए । मुलुकमा दुई अन्तर्राष्ट्रिय विमानस्थललाई राम्रोसँग चलाएपछि पर्यटन क्षेत्र थप मजबुद हुने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले काँग्रेसका सभापति देउवा आफ्ना ५० वर्षदेखिका पुराना मित्र तथा अप्ठ्यारा र अँध्यारा दिनमा भेटेका साथी भएको उल्लेख गर्दै आफूहरूले जेलमा रहँदा देखेको लोकतान्त्रिक, सुन्दर र सभ्य समाजको लक्ष्यलाई साकार पार्न अहिले राजनीतिक सहकार्य गरिएको बताए । 

पूर्व प्रधानमन्त्री देउवाले सुन्दर ठाउँमा स्थापित अन्तर्राष्ट्रिय चेन होटेलका रूपमा रहेको सो रिपोर्टको अत्याधिक प्रचारप्रसार गरेर पर्यटक भित्र्याउनुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस