दुई चित्तल मारेर लैजान लागेका एक जना पक्राउ

रासस

मंगलबार, २२ असोज २०८१, १५ : ५६
दुई चित्तल मारेर लैजान लागेका एक जना पक्राउ

चितवन । पञ्चकन्या सामुदायिक वन अगाडि रत्ननगर नगरपालिका-११ शीतल टोलमा दुई वटा चित्तल मारेर बोरामा लैजान लागेका एक जनालाई पक्राउ गरिएको छ ।

डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी देवी पौडेलका अनुसार कालिका नगरपालिका-६ घर भई वडा नम्बर ३ मा बसोबास गर्दै आएका ३१ वर्षीय उज्वल लामा पक्राउ परेका हुन् । निजको साथमा रहेको बोराभित्र दुई वटा मृत चित्तल राखेको भेटिएको थियो । पौडेलका अनुसार चित्तल गोली हानेर मारिएको हो ।

पक्राउ परेका लामासँगै अन्य चार मोटरसाइकल फेला परेको छ । उनीसँगै आएका मोटरसाइकलमा सवार केही व्यक्ति फरार भएका छन् । निजहरूले गोली हानेर चित्तल मारेको सूचनाको आधारमा सोमबार इलाका प्रहरी कार्यालय रत्ननगर, डिभिजन वन कार्यालय, सशस्त्र वन रक्षक टोली र पञ्चकन्या सामुदायिक वनको संयुक्त टोलीले निजलाई पक्राउ गरेको हो । 

उक्त कार्यमा संलग्न फरार व्यक्तिहरूको खोजी भइरहेको पौडेलले बताए । वनभित्र गोलीको आवाज सुनिएपछि चित्तल मारेको आशंकामा उनीहरूको खोजी गरिएको थियो । घटनाबारे अनुसन्धान भइरहेकाले वन कार्यालयले आज मात्र सूचना दिएको हो ।