अमेरिकामा हेलेन आँधीमा परेर मर्नेको सङ्ख्या १८० जना पुग्यो

सफल खबर संवाददाता

विहीबार, १७ असोज २०८१, १४ : ०१
अमेरिकामा हेलेन आँधीमा परेर मर्नेको सङ्ख्या १८० जना पुग्यो

अमेरिका । अमेरिकामा हेलेन आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या १८० पुगेको छ । दक्षिण–पूर्वी अमेरिकी राज्यहरू यस आँधीको चपेटामा आएका थिए ।

राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । आँधीका कारण भएको क्षतिको अवलोकन गर्न बाइडेन हेलिकप्टरबाट नर्थ र साउथ क्यारोलिना गएका थिए । ह्यारिस बुधबार जर्जिया गएकी थिइन् ।

आँधीका कारण सयौँ मानिस अझै बेपत्ता छन् । खोज तथा उद्धार टोलीलाई दुर्गम क्षेत्रमा पुग्न कठिनाइ भइरहेको छ ।

आँधीबाट प्रभावित छ वटा राज्यहरूमा ६ हजार नेशनल गार्ड सदस्यहरू र ४ हजार ८ सय संघीय सहायताकर्मीहरूलाई मद्दत गर्न बाइडेनले १ हजार सक्रिय सेना पठाएका थिए । सर्वसाधारणसम्म राहत सामग्री पुर्‍याउने काम भइरहेको छ ।

गत हप्ता रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्प पनि आँधीले पुर्‍याएको क्षति हेर्न जर्जिया गएका थिए । दुर्गम क्षेत्रमा बस्ने मानिसहरूसम्म अहिलेसम्म सम्पर्क बनाउन नसकिएको बताइएको छ ।

बाइडेनले बिहीबार फ्लोरिडा र जर्जियाको भ्रमण गर्ने ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले भनेका थिए । गत बिहीबार अमेरिकामा हेलेन आँधी आएको थियो ।

प्रतिक्रिया दिनुहोस