प्रहरीमा एक एआईजी र पाँच डीआईजी पद रिक्त, दसैंअघि बढुवा नहुने

सफल खबर संवाददाता

बुधबार, १६ असोज २०८१, १२ : १२
प्रहरीमा एक एआईजी र पाँच डीआईजी पद रिक्त, दसैंअघि बढुवा नहुने

काठमाडौं। विगत एक महिनादेखि नेपाल प्रहरीको रिक्त रहेको पदमा बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन। भदौ १६ देखि अहिलेसम्म नेपाल प्रहरीमा एक एआइजी र पाँच डीआईजीको पद रिक्त भएको छ।

डिआइजी यज्ञबिनोद पोखरेलले अवकाश पाएसँगै एक एआइजी र पाँच डिआइजीको पद रिक्त भएको हो। विपत्तिमा नेपाल नभएका आइजीपी वसन्तबहादुर कुँवरको अनुपस्थितिमा निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले पोखरेलको बिदाई गरेका थिए ।

मधेश प्रदेशबाट समयावधि नपुग्दै तानिएका र कारवाही गर्ने हल्ला गरिएका डिआइजी पोखरेललाई चुपचाप विदाई गरिएको थियो । उनको विदाईपछि माथिल्लो तहबाटै बढुवा प्रकृया शुरु गर्ने जनाइको छ।

पोखरेलको बिदाइ समारोहलाई सम्बोधन गर्दै निमित्त प्रहरी महानिरीक्षक राईले सेवा निवृत्त भएका प्रहरी नायव महानिरीक्षक पोखरेलले संगठनबाट सुम्पिएको जिम्मेवारी इमानदारीताका साथ सम्पन्न गरेको उल्लेख गरेर विदाई गरेका थिए।

डिआइजी पोखरेल बैक खातामा स्रोत नखुलेको पैसा भेटिएपछि गत महिना विवादमा परेको विषयलाई निमित्त आइजीपीले उठाउन चाहेनन्। राईले पोखरेल इमानदार भएको भन्दै प्रशंसा गरेर विदा गरेपछि सभास्थलमा हाँसोको फोहोरा छुटेको थियो।

बैक खातामा स्रोत नखुलेको पैसा भेटिएपछि उनलाई मधेस प्रदेशको प्रहरी प्रमुखबाट हटाइएको थियो। त्यहाँ अहिले लालमणी आचार्यलाई पठाइएको छ ।२०५२ साल कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा भर्ना भएका पोखरेल उमेरहदका कारण अवकाश पाएका हुन्।

उनको अवकाशसँगै नेपाल प्रहरीका एआइजीको एक र डिआइजीको पाँच पद रिक्त भएपछि बढुवाको लाइनमा रहेका एक दर्जनबढी एसएसपीहरु दौडधुपमा लागेका छन् । असोज २१ सम्म कार्यसम्पादन मूल्याङकन बुझाउने समय भएकाले त्यसपछि बढुवा गर्ने गृह मन्त्रालयको तयारी छ।

उनीहरुको बढुवामा अझै केही समय लाग्ने बताइएको छ । कार्यसम्पादन मूल्यांकन तथा प्रहरी दिवसपछि मात्रै रिक्त रहेको करिव दुई सय पदमा बढुवा हुने बताइएको छ । ‘दशै अघि बढुवाको प्रकृया अघिबढ्ला जस्तो छैन’, प्रहरी प्रधानकार्यालयका एक अधिकारीले भने ।