‘टुवाइसी’ को भरमा प्रहरी सङ्गठन

सफल खबर संवाददाता

विहीबार, ०४ बैशाख २०८२, ०८ : १७
‘टुवाइसी’ को भरमा प्रहरी सङ्गठन

काठमाडौ । नेपाल प्रहरीका महत्त्वपूर्ण छ वटा विभाग झन्डै एक महिनादेखि टुवाइसी (सेकेन्ड इन कमान्ड) ले नेतृत्व गरिरहेका छन् ।

प्रहरीमा एआइजी बढुवा विलम्ब हुँदा मानव स्रोत विभाग, प्रशासन विभाग, कार्य विभाग, अपराध अनुसन्धान विभाग, प्रदेश समन्वय विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) टुवाइसी अर्थात् प्रहरी नायब महानिरीक्षक (डिआइजी) को भरमा पुगेका हुन् । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का तत्कालीन प्रमुख एआइजी दीपक थापा प्रहरी महानिरीक्षक नियुक्त भएदेखि ब्युरोमा एआइजीको नेतृत्व हुन सकेको छैन । त्यसै गरी ३० बर्से सेवा अवधिका कारण एआइजीहरू टेकप्रसाद राई, दुर्गा सिंह, बुद्धिराज गुरुङ, कुवेर कडायत र जनक भट्टराई अवकाशमा एएपछि यी विभागमा पनि एआइजीको नेतृत्व हुन सकेको छैन ।

सुरक्षा निकायमा ‘चेन अफ कमान्ड’ लाई सङ्गठन सञ्चालनको मुख्य अङ्गका रूपमा लिने गरिन्छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दिनेशकुमार आचार्यले रिक्त रहेको एआइजी बढुवाका लागि प्रहरी प्रधान कार्यालयले आवश्यक प्रक्रिया अघि बढाइसकेको जानकारी दिए ।