विभेद रोक्न नेपाल वायू सेवा निगमभित्र क्याविन क्रुको घेराउ

सफल खबर संवाददाता

सोमबार, १४ असोज २०८१, १४ : १६
विभेद रोक्न नेपाल वायू सेवा निगमभित्र क्याविन क्रुको घेराउ

काठमाडौँ । नेपाल वायू सेवा निगममा अन्याय र विभेद भएको भन्दै सोमबार कर्मचारीहरुले निगम परिसरमा व्यवस्थापन विरुद्ध सांकेतिक विरोध प्रदर्शन गरेका छन् । वर्षौंदेखि निगममा कार्यरत क्याबिन क्रुहरुले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध गई व्यवस्थापनले काम गरेको, न्यायका लागि लड्दा प्रतिशोध साँधेको भन्दै विरोध प्रदर्शन गरेका हुन् । 

सोमबार विहान भण्डै ५० जना कर्मचारीहरुले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी कार्यालय प्रवेश गर्ने बेलामा हातमा कालोपट्टि बाँधेर प्रदर्शन सूरु गरेका थिए । सर्वोच्च अदालतले केही महिना अघि कर्मचारीबीच सेवा, सुविधा र सेवा अवधिमा भेदभाव नगर्न निगमका नाममा अन्तरिम आदेश जारी गरेको थियो । सर्वाेच्चको आदेशको अवहेलना गर्दै क्याविन क्रुलाई अवकास दिन लागिएको, सेवा सुविधामा भेदभाव भएको भन्दै केही दिनदेखि कर्मचारीहरुमा असन्तुष्टि छाएको थियो । निगमभित्रका १ सय ७२ जना क्याविन क्रु (एयरहोस्टेज) अन्यायमा परेको भन्दै केही महिनाअघि न्यायका लागि सर्वोच्चमा पुगेका थिए । सर्वाेच्चले उक्त मुद्दालाई प्राथमिकतामा राख्दै कर्मचारीहरुमाथि विभेद रोक्न, मुद्दा हालेकै कारणले पूर्वाग्रह नराखी काम गर्न अन्तरिम आदेश दिएको थियो । 

कर्मचारीहरुले पर्यटन मन्त्री बद्री प्रसाद पाण्डेलाई समेत भेटेर आफूमाथिको भेदभाव रोक्नका लागि आवश्यक पहल गर्न सुझाव पत्र दिएका थिए । सर्वोच्चमा समेत यो विषयमा मुद्दा विचाराधिन रहेकै अवस्थामा कार्यकारी अध्यक्ष अधिकारीले पूर्वाग्रहपूर्ण ढंगले कारवाही थालेका थिए । 

सोमबार निगम परिसरमा कर्मचारीहरुले सर्वोच्चको अन्तरिम आदेश पालना गर, विभेद रोक, दमन गर्न पाइँदैन जस्ता प्ले कार्ड समेत बोकेका थिए । निगमभित्रको अनियमितता, भ्रष्टाचार र वेथितिबारे राज्यका अन्य निकायले छानवीन गरिरहेका बेला कर्मचारीहरुमाथि विभेद सार्वजनिक भएको हो ।
 

प्रतिक्रिया दिनुहोस