उद्धार र राहतको कार्यमा संलग्न हुन पार्टीपंक्तिलाई सभापति देउवाको निर्देशन

सफल खबर संवाददाता

शनिबार, १२ असोज २०८१, १४ : ०७
उद्धार र राहतको कार्यमा संलग्न हुन पार्टीपंक्तिलाई सभापति देउवाको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको अधिकांश भू–भागमा अत्यधिक वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी भएको जनधनको ठुलो क्षतिप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो दुःख व्यक्त गरेका छन् । देउवाले सम्पूर्ण पीडितहरूप्रति नेपाली कांग्रेसको तर्फबाट सहानुभूति प्रकट गर्दै यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

यस घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीन वटै तहका सरकारहरूले आवश्यक समन्वय र व्यवस्थित योजना साथ सम्पूर्ण रूपले ध्यान केन्द्रित गर्न उनले आग्रह गरेका छन् । सम्पर्कविहीनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरूलाई सम्पूर्ण उपचारको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न नेपाली कांग्रेसको तर्फबाट सरकारसँग उनको आग्रह छ । 

स्थानीय पार्टी पङ्क्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन पार्टीका तर्फबाट निर्देशन समेत दिइएको छ । ‘पार्टीका साथीहरूलाई व्यवस्थित ढंगले प्रभावकारी रूपमा कार्य गर्न आग्रह गर्दै यो विपत्तिको सामना संयम र एकतापूर्वक गर्न स्थानीय सबै दिदीबहिनी–दाजुभाइमा अपिल गर्दछु,’ उनले भनेका छन् ।

‘प्राकृतिक प्रकोपमा जीवन गुमाउनु भएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ देउवाले विज्ञप्तिमार्फत भनेका छन् ।

 

Asoj 12, Flood in nation