सिन्धुपाल्चोक र पाँचथरमा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १२ असोज २०८१, १० : २८
सिन्धुपाल्चोक र पाँचथरमा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु

File Photo

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक र पाँचथरमा पहिरोले घर बगाउँदा चारजनाको मृत्यु भएको छ।

सिन्धुपाल्चोकको लिसङ्खु पाखरमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। लिसङ्खु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाका अनुसार गएराति आएको पहिरोले पुरिएर वडा नम्बर३ का पूर्वअध्यक्ष काजीबहादुर लामा र उनकी श्रीमतीको मृत्यु भएको हो। 

घरमा सुतिरहेकाको समयमा राति १ बजेतिर आएको पहिरोले पुरिँदा दुवै जनाको मृत्यु भएको अध्यक्ष लामाले जानकारी दिए। स्थानीयले रातिदेखि नै उद्धार सुरु गरेका थिए।

अविरल वर्षाका कारण सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ। सुनकोसी नदीले खतराको तह पार गरेको छ। अरनिको राजमार्गलगायत अन्य सहायक मार्गमा पहिरोका कारण सडक अवरुद्ध भएका छन्। 

इन्द्रावती नदीमा आएको बाढी इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा पस्दा आयोजना बन्द भएको आयोजनाका कर्मचारी विनोद कार्कीले जानकारी दिए। 

मेलम्ची खोलामा आएको बाढीले मेलम्ची–७ र हेलम्बु गाउँपालिका–४ जोड्ने तालामाराङ डाँडापसलको झोलुङ्गे पुल उच्च जोखिममा रहेको स्थानीय तारा गिरीले जानकारी दिए। 

यसैबीच पाँचथरमा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु भएको छ। 

निरन्तरको वर्षाका कारण खसेको पहिरोमा परी पुरिँदा फिदिम नगरपालिका–४ चिसापानीमा बस्दै आएका फिदिम नगरपालिका–१२ का २५ वर्षीया सपना शेर्पा र उनकी छोरी पाँच वर्षीया डोल्माको मृत्यु भएको हो। 

उनीहरूसँगै रहेका अन्य तीन जना भने भागेर बाँच्न सफल भएका छन्।

पहिरोमा परी आज बिहान ३ः४५ तिर दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकहरूको शव स्थानीयवासीको सहयोगमा प्रहरीले पहिरोबाट निकालेको छ। 

पहिराले यहाँ रहेको नेपाल आदिवासी जनजाति महासङ्घको भवन पनि पुरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस