लेबनानमा पेजर विस्फोटको कारण के हो ?

सफल खबर संवाददाता

बुधबार, ०२ असोज २०८१, ११ : ४५
लेबनानमा पेजर विस्फोटको कारण के हो ?

बेरुत । मंगलबार राजधानी बेरुतसहित धेरै ठाउँमा भएका पेजर विस्फोटमा परेर लेबनानमा अहिलेसम्म नौ जनाको मृत्यु भएको छ भने २८ सयभन्दा बढी घाइते भएका छन् । पेजरमा यी विस्फोट कसरी भयो भन्ने अहिलेसम्म खुलेको छैन ।

तर हिजबुल्लाहले यसका लागि इजरायललाई जिम्मेवार ठहराएको छ भने इजरायलले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । राजधानी बेरुतमा स्थानीय समयअनुसार अपराह्न ४ बजेर ४५ मिनेटमा यी विस्फोट सुरु भएका थिए ।

मानिसको गोजीबाट धुवाँ निस्किरहेको देखेको एक प्रत्यक्षदर्शीले बताए । के हो भनेर थाहा पाउनु अघि नै विस्फोट भयो ।  यसको आवाज बन्दुकको गोली वा पटाका जस्तै थियो ।

पसलमा किनमेल गर्न आएका व्यक्तिको खल्तीमा राखिएको पेजर विस्फोट भएको दृश्य एक सीसीटीभी फुटेजले देखाएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार यो पहिलो विस्फोटपछि करिब एक घण्टासम्म शृङ्खलाबद्ध विस्फोटहरू जारी रह्यो ।

यी विस्फोटहरू ह्याकिङ वा पेजरको ब्याट्री बढी तातिएका कारण भएको हुनसक्ने मानिएको छ । केही विशेषज्ञहरूले ब्याट्री ओभरहिट भएको सम्भावनालाई अस्वीकार गरेका छन् । सीसीटीभीमा देखिएका दृश्यका आधारमा ब्याट्री बढी तातो भएर यस्ता सिरियल ब्लास्ट हुन नसक्ने उनीहरूको भनाइ छ ।