आतिशी बन्ने भइन् दिल्लीको नयाँ मुख्यमन्त्री

सफल खबर संवाददाता

मंगलबार, ०१ असोज २०८१, १३ : ०२
आतिशी बन्ने भइन् दिल्लीको नयाँ मुख्यमन्त्री

नयाँ दिल्ली । दिल्लीको नयाँ मुख्यमन्त्रीको नाम सार्वजनिक भएको छ । आम आदमी पार्टी (आप)की नेतृ आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री हुनेछिन् । दिल्ली सरकारका मन्त्री गोपाल राईले सञ्चारमाध्यमलाई सो जानकारी दिएका हुन् ।

आतिशी अप्ठ्यारो परिस्थितिमा दिल्लीको मुख्यमन्त्री बन्न लागेको गोपाल राईले भनेका थिए । भाजपाले आपलाई तोडेर सरकार ढाल्ने प्रयास गरेको थियो । तर हामीले उनीहरूको सबै प्रयासलाई विफल बनायौँ ।’ उनले भने ।

मंगलबार बिहान करिब ११ बजे बसेको व्यवस्थापिका–संसद्को बैठकले अतिशीको नाम अनुमोदन गरेको हो । अतिशीलाई सर्वसम्मतिले मुख्यमन्त्रीमा निर्वाचित गरिएको थियो । केजरीवाल जेलमा हुँदा आतिशीले सरकारको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

अहिले उनले शिक्षालगायत महत्त्वपूर्ण विभागहरू सम्हालिरहेकी छिन् । मुख्यमन्त्री अरविन्द केजरीवालले आप कार्यकर्ताहरूलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेदेखि नै यो पद कसले लिने भन्ने चर्चा चलेको थियो ।

केजरीवालले अब दिल्लीका लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनालाई भेटेर राजीनामा बुझाउनेछन् । अरविन्द केजरीवाल १३ सेप्टेम्बरमा तिहाड जेलबाट रिहा भएका थिए । उनी मदिरा घोटलामा जेलमा थिए । त्यसपछि सेप्टेम्बर १५ मा पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।

‘जनताको फैसला नआएसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन । म जनताको बीचमा जान्छ । फागुनमा चुनाव हुन्छ । आज म यस फोरमबाट नोभेम्बरमा महाराष्ट्रसँग चुनाव गराउनुपर्ने माग गर्दछु ।’ आफ्नो सम्बोधनमा केजरीवालले भनेका थिए ।

प्रतिक्रिया दिनुहोस