सहकारी छानबिन संसदीय समितिको प्रतिवेदन आज संसदमा पेश हुदै, रवि लामिछाने दोषी रहेको ठहर

सफल खबर संवाददाता

सोमबार, ३१ भदौ २०८१, ०८ : ०६
सहकारी छानबिन संसदीय समितिको प्रतिवेदन आज संसदमा पेश हुदै, रवि लामिछाने दोषी रहेको ठहर

काठमाडौ । सहकारीमार्फत आएको पैसा गोरखा मिडिया नेटवर्कमार्फत अपचलन गरेको भन्दै सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोषी ठहर गरेको छ।

समितिको बैठकले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई कारबाहीका लागि सिफारिस गरेको एक सदस्यले जानकारी दिए।

पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीको रकम अपचलनमा पनि रविको नाम जोडिएको छ।  तर, समितिले सहकारीमा उनको संलग्नतासम्बन्धी कुनै कागजात फेला पार्न सकेन। गोर्खा मिडियामा भने समितिले उनलाई दोषी देखाएको हो।

‘सहकारी बचत अपचलनमा होइन, सहकारी हुँदै गोर्खा मिडिया नेटवर्कमा गएको करोडौँ रकममा रविजी दोषी रहेको पुष्टि भएको हो’, ती सदस्यले भने, ‘रविजीलाई कानुनी कारबाहीका निम्ति सिफारिस गर्ने सहमति जुटेको छ।’

छानबिन समितिले पाएको कार्यादेशमा गोर्खा मिडिया प्रालीलाई जोड दिएर अध्ययन गर्न भनिएको थियो।प्रहरी महानिरीक्षक वसन्त कुँवरले पनि गोर्खा मिडिया नेटवर्कबाटै रविलाई दोषी प्रमाणित गर्न सकिने सुझाव दिएका थिए।

संसदीय समितिले तयार पारेको झन्डै सात सय पृष्ठको प्रतिवेदनलाई अन्तिम रूप दिएर आजै सोमबार (३१ भदौ) संसद्‌मा पेस गर्ने तयारी छ। प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ।

प्रतिवेदन तयार पार्न आइतबार दिउँसो २ बजेदेखि बसेको समितिको बैठक सोमबार (आज) बिहान ३ बजेसम्म चलेको थियो।

नाम किटान गर्ने विषयमा समिति सदस्यहरूबीच विवाद भएकै कारण बैठक लम्बिएको ती सदस्यको भनाइ छ। 

गत जेठ १५ गते एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीको संयोजकत्वमा ७ सदस्यीय संसदीय छानबिन विशेष समिति’ गठन भएको थियो।

प्रतिक्रिया दिनुहोस