काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिएको बताएका छन् ।आईजीसी बिजनेस होल्डिङ नेपाल र केइरिनकन कम्पनी लिमिटेड जापानबीच सूचना प्रविधि (आईटी) क्षेत्रमा संयुक्त लगानीका लागि बिहीवार आयोजित सम्झौता कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘हामी यस क्षेत्रमा लगानी भित्र्याउन आवश्यक सहयोग प्रदान गर्न प्रतिबद्ध छौं र लगानीकर्ताहरूका लागि सकारात्मक वातावरण सिर्जना गर्न सरकार पनि तयार छ,’ उनले भने।
मन्त्री भण्डारीले वैदेशिक लगानीकर्तालाई प्रोत्साहन गर्दै सूचना प्रविधि क्षेत्रलाई प्रगति गराउन नेपाल सरकार तयार रहेको कुरामा जोड दिए । उनले यो सम्झौताले दुई राष्ट्रबीचको प्रविधि सम्बन्धमा नयाँ युगको शुरूवातको सङ्केत गरेको उल्लेख गरे ।
‘यो नयाँ सूचना र प्रविधि उद्यमको स्थापनाको साक्षी हुँदा हामीले व्यापार सम्झौतामा हस्ताक्षर मात्र गर्दैनौ, हामी नेपाल र जापानबीच पुल निर्माण गरिरहेका छौं, प्रत्यक्ष वैदेशिक लगानीले आर्थिक वृद्धि, रोजगारी सिर्जना र प्रविधि तथा ज्ञानको हस्तान्तरणमा सहजीकरण गर्नमा महत्वपूर्ण भूमिका खेल्छ, यसले विशेष गरी हाम्रो द्रुत गतिमा अन्तर्राष्ट्रिय लगानी र नवप्रवर्तनका लागि अनुकूल वातावरण सिर्जना गर्ने नेपालको साझेदारी प्रतिबद्धतालाई मूर्त रूप दिन्छ,’ उनले भने ।
कार्यक्रममा आईजीसी बिजनेस होल्डिङका अध्यक्ष गणेशमान लामा र केइरिनकन कम्पनी लिमिटेडका अध्यक्ष तथा प्रमुख कार्यक्रम अधिकृत (सीईओ) सतोशी सातोले औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर गरेका थिए । दुवै पक्षले नेपाललाई डिजिटल रूपान्तरणको मार्गमा अघि बढाउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आईजीसीका अध्यक्ष लामाले बिहीवारको कार्यक्रम केवल सम्झौतापत्रमा हस्ताक्षरको मात्र नभइ नेपाल र जापानबीच सहकार्य, विकास तथा साझा दृष्टिकोणको यात्रा भएको बताए । उनले सूचना प्रविधि क्षेत्रमा यो प्रतिबद्धताले नेपाललाई डिजिटल रूपान्तरण र प्राविधिक नवप्रवर्तनतर्फ लैजाने काममा सहयोग पुर्याउने उल्लेख गरे ।
केइरिनकनका अध्यक्ष तथा सीईओ सतोशी सातोले पनि यस संयुक्त लगानीप्रति आफ्नो उत्साह प्रकट गर्दै यो सहकार्यले व्यापारिक सम्बन्धलाई मात्रै नभइ नेपाल र जापानबीचको गहिरो द्विपक्षीय सम्बन्धलाई पनि मजबुत बनाउने बताए । उनले यस साझेदारीको माध्यमबाट नेपालमा आफ्नो व्यवसाय विस्तार गर्ने इच्छा व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ भदौ २०८१, १६ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता
भारत र मलेसियाका लागि राजदूत नियुक्त
ब्रायन लारा नेपाल आउदै
नेपाल–भारतबिच अन्तर्देशीय पर्यटन प्रवर्द्धन
भुटानका राजा आज नेपाल आउँदै
नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर