अर्थतन्त्रमा अटोमोवाईल्स क्षेत्रको महत्त्वपूर्ण योगदान : मन्त्री दाहाल

सफल खबर संवाददाता

विहीबार, १३ भदौ २०८१, १४ : ३२
अर्थतन्त्रमा अटोमोवाईल्स क्षेत्रको महत्त्वपूर्ण योगदान : मन्त्री दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालको अर्थतन्त्रमा अटोमोवाईल्स क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् ।

बिहीबार नाडा अटोमोवाईल्स एसोसिएसन अफ नेपालद्वारा काठमाडौँको भृकुटीमण्डपमा आयोजित नाडा अटो शोको अवलोकन गर्दै उनले यस क्षेत्रको विकासका लागि मन्त्रालय प्रतिबद्ध रहेको पनि बताए ।

देशको यातायात, अर्थतन्त्र र रोजगारीमा अटोमोवाईल्स क्षेत्रले महत्त्वपूर्ण सहयोग पुर्याईरहेको उनको भनाई थियो । जनतालाई आधुनिक, सुलभ र सुरक्षित अटोमोवाईल्स सेवा पुर्याउन मन्त्रालय नाडासँग सहकार्यका लागि तयार रहेको समेत उनले उल्लेख गरे ।

अटोमोवाईल्स तथा यससँग सम्बन्धित उद्योग तथा व्यवसायले नेपालमा नै स्वरोजगारी समेत सिर्जना गरिरहेको भन्दै मन्त्री दाहालले प्रविधिमैत्री संरचना निर्माणलाई पनि मन्त्रालयले ध्यान दिने बताए ।

भदौ ११ देखि १६ गतेसम्म आयोजित अटो शो अवलोकनका लागि मन्त्री दाहालसँगै मन्त्रालयका सचिव केशवकुमार शर्मा लगायतका अधिकारीहरूको सहभागिता रहेको थियो । एसोसिएसनका अध्यक्ष करण चौधरी लगायतले अटो शो तथा नेपालमा अटोमोवाईल्स क्षेत्रका विभिन्न समस्या र सम्भावनाबारे मन्त्री दाहाललाई जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस