काठमाडौं। चीनको अग्रणी अटोमोबाइल निर्माता गिली ग्रुप अन्तर्गतको प्रिमियम लक्जरी ईभी ब्रान्ड जिकरले नेपालमा जिकरका गाडीहरू वितरणका लागि नेपालको अग्रणी अटोमोबाइल वितरक पायोनियर मोटोकर्प प्रालिसँग सम्झौता हस्ताक्षर गरेको छ ।यो हस्ताक्षर समारोह चीनको हाङजोउमा ५ भदौमा सम्पन्न भएको हो ।
हस्ताक्षर समारोहमा निर्माता पक्षबाट जिकर युरोएसियाका महाप्रबन्धक जेफ काओ, जिकर साउथका क्षेत्रीय निर्देशक फेलिक्स हु र जिकर युरो एसियाका क्षेत्रीय मार्केटिङ निर्देशक रान्डोल लेङ उपस्थित थिए ।
नेपालबाट पायोनियर मोटोकर्प प्रालिको प्रतिनिधित्व गर्दै प्रबन्ध निर्देशक सन्दीपकुमार शारडा र निर्देशक गौरव शारडा उपस्थित थिए ।सम्झौता समारोहको शुरूआतमा पायोनियर मोटोकर्प र जिकर दुवै कम्पनीहरूको प्रतिनिधिद्वारा आपसी सम्मान र साझा दृष्टिकोणलाई उजागर गर्ने स्वागत मन्तव्य राखिएका थिए ।
साथै दुई कम्पनीबिच आपसी सहकार्यद्वारा विद्युतीय प्रविधि तथा गाडीको प्रबर्द्धन गर्ने प्रतिबद्धतासहित नेपालमा वितरणका लागि सम्झौतामा औपचारिक हस्ताक्षर गरिएको थियो ।अटोमोटिभ तथा मोबिलिटी क्षेत्रमा एक नयाँ अध्याय र एक महत्त्वपूर्ण एलायन्स शुरूआतको उत्सवस्वरूप ‘स्याम्पेन टोस्ट’सहित समारोहको अन्त्य गरिएको थियो ।
यस वितरण सम्झौता नेपाली अटोमोबाइल क्षेत्रमा एक महत्त्वपूर्ण र उल्लेखनीय कदम रहेको छ ।यस सहकार्यसँगै नेपाली ईभी पारखी तथा ग्राहकहरूले नेपाल लक्षित उत्कृष्ट मूल्य र गुणस्तरीय सेवासहित अत्याधुनिक गाडी खरिद गर्न र अनुभव लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ भदौ २०८१, १५ : ५१
लेखकबाट थप