गोल्डस्टार जुत्ता लगाउने राजेन्द्र लिङ्देनको जीवनशैलीमाथि प्रश्न

सफल खबर संवाददाता

सोमबार, १० भदौ २०८१, १२ : ५६
गोल्डस्टार जुत्ता लगाउने राजेन्द्र लिङ्देनको जीवनशैलीमाथि प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको नाममा एक किसीमको किर्तिमान छ । समकालीन राजनीतिमा सबैभन्दा बढी कसम खाने नेतामा उनको नाम दर्ज छ । तर आदर्श बोली व्यवहारमा कति पालना भएको छ भन्ने चुनौति तथा अन्तरविरोधले उनलाई पछ्याउने गरेको छ । 

कमल थापालाई कहिले साथ नछाड्ने भन्दै पाथीभरा मन्दिरमा उनले कसम खाए । गत राप्रपा महाधिवेशनमा थापा विरुद्ध उठे र त्यसबखत डा प्रकाशचन्द्र लोहनी सामु पुगेर ‘हजुर मेरो गुरु, मेरो पथप्रदर्शक’ भन्दै आँसु झारे, के के बाचासहित कबूलनामाको कागज बुझाए । अध्यक्ष बनेपछि कदम कदममा लोहनीलाई धोका दिए । 

समानुपातिक सांसद छनौटमा राप्रपाभित्र पैसाको चलखेल भयो भन्ने आरोप खण्डन गर्दै कसम खाए । राप्रपा सांसद गीता बस्नेतसँग ‘मैले एक करोड लिएको प्रमाणित भए राजनीतिबाट सन्यास लिन्छु’ भनेर पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न एक भेलामा घोषणा गरे ।

‘म गाडी चढ्न नसक्ने, खाना खान नसक्ने, घर बनाउन नसक्ने, छोराछोरी पाल्न र पढाउन नसक्ने व्यक्ति हो ?’ भन्दै सोही कार्यक्रममा लिङदेन कार्यकर्तासामु कड्किए । छोरी अमेरिका पढेको विषयमा अन्तरवार्ता दिँदै कसम खाए । राप्रपा नेता रवीन्द्र मिश्रले साझा पार्टीको अध्यक्ष हुँदा सार्वजनिक गरेको ‘भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह हो’ भन्ने आदर्शवाणी आफ्नो भन्दै संसदमा बोले । 

लिङदेनले अहिले गोल्डस्टार जुत्ता लगाएको फोटो प्रचारमा ल्याएका छन् । नेपाली उत्पादनको प्रयोग गर्नु स्वागतयोग्य छ तर लिङदेन स्वयमले केही समय अघि हस्की जातको कुकुर पालेको फोटो सामाजिक संजालमा राखेका थिए । हस्की विदेशी जातको कुकुर मात्र नभएर यसको पालनपोषणमा कम्तिमा मासिक एक लाख रुपैयाँ खर्च लाग्छ, जबकी लिङदेन सादगी जीवनको चर्चा गर्छन् । सार्वजनिक जीवनमा रहेका व्यक्तिसँग सम्बन्धित यस्ता विरोधाभाषको जवाफ जनताले खोज्छन् नै । 

राप्रपा अध्यक्ष हालै अष्ट्रेलिया भ्रमण सम्पन्न गरेर ब्याङ्कक पुगेका छन् । पार्टी सचिवालयलाई समेत जानकारी नभएको ब्याङ्कक भ्रमण एकाएक कसरी तय भयो ? खोजीको विषय बनेको छ । ब्याङ्कक लोकप्रिय पर्यटकीय गन्तव्य हो, विश्वभरका शौखिनहरुका लागि ब्याङ्कक आराम र रमाइलो गर्ने अनि मुड फ्रेस गर्ने गन्तव्य भनेर प्रख्यात छ । जानिफकारको भनाइमा लिङदेन टोलीको यस्ता विदेश भ्रमणमा अमेरिकी नागरिक प्रेम श्रेष्ठको प्रखर भूमिका रहने गरेको छ । यस विषयमा राजेन्द्रलाई सम्पर्क गर्दा उनको मोबाइल अफ त भने पार्टीका नेताहरुसँग सम्पर्क गर्दा पनि खुल्न चाहेनन् ।

प्रतिक्रिया दिनुहोस