लेबनानमा इजरायली आक्रमण

सफल खबर संवाददाता

आइतबार, ०९ भदौ २०८१, १० : ५७
लेबनानमा इजरायली आक्रमण

बेरुत । इजरायली सेनाले लेबनानमा आक्रमण गरेको छ । आफ्नो लडाकु विमानले लेबनानमा हिजबुल्लाहलाई निशाना बनाएर आक्रमण गरिरहेको इजरायली सेनाले बताएको छ ।  हिजबुल्लाहको मिसाइल र रकेट फायरिङ गतिविधि पत्ता लागेपछि यो कदम चालेको इजरायलले जनाएको छ ।

‘हामीले हिजबुल्लाहको मिसाइल र रकेट आक्रमणलाई पन्छाउन आत्मरक्षाका लागि लेबनानमा आक्रमण गरेका छौँ ।’ इजरायल डिफेन्स फोर्सका प्रवक्ता ड्यानियल हगारीले भनेका छन् । आक्रमण गर्नुअघि सर्वसाधारणलाई हिजबुल्लाहले आफ्नो गतिविधि सञ्चालन गरिरहेका स्थानबाट तुरुन्तै बाहिरिन चेतावनी दिएको पनि सेनाले भनेको छ ।

इजरायली लडाकु विमानहरूले लेबनान भित्रका हतियार भण्डार र सैन्य भवनहरूलाई निशाना बनाए । यस आक्रमणमा एक जनाको मृत्यु भएको र ३० जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

यी आक्रमणहरूको जवाफमा हिजबुल्लाहले गोलान हाइट्स क्षेत्रमा ५० भन्दा बढी मिसाइलहरू प्रहार गरेको थियो । आफ्ना सैन्य कमान्डर फुआद शुक्रको हत्याको बदला लिन इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण गरेको हिजबुल्लाहले बताएको छ ।इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो मन्त्रिपरिषद्को आपत्कालीन सुरक्षा बैठक बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस