देशभर ९८ प्रतिशत रोपाइँ, गत वर्षभन्दा चार प्रतिशत बढी

सफल खबर संवाददाता

शनिबार, ०८ भदौ २०८१, १० : ४७
देशभर ९८ प्रतिशत रोपाइँ, गत वर्षभन्दा चार प्रतिशत बढी

काठमाडौँ । यस वर्ष धान रोपाइँका लागि मनसुन अनुकूल रहँदा ९८ दशमलव पाँच प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार अघिल्लो वर्ष ९४ दशमलव ६ प्रतिशतमा रोपाइँ सम्पन्न भएकाेमा यस वर्ष झन्डै चार प्रतिशत रोपाइँ बढेको छ ।

मुलुकभर १३ लाख ९८ हजार नौ सय ८५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने क्षेत्रमध्ये १३ लाख ७८ हजार ६ सय ११ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार कोशी प्रदेशमा ९९ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कोशी प्रदेशमा करिब दुई लाख ७६ हजार तीन सय ८६ हेक्टर रोपाइँ हुने क्षेत्रफल रहेकामा हालसम्म दुई लाख ७५ हजार दुई सय ६७ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो । अघिल्लो वर्ष भदौ ७ सम्म कोशी प्रदेशमा ९७ दशमलव सात प्रतिशतमा रोपाइँ सम्पन्न भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।  

यसैगरी, मधेस प्रदेशमा ९७ दशमलव तीन प्रतिशतमा रोपाइँ सम्पन्न भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार यस प्रदेशमा तीन लाख ८६ हजार एक सय ५० हेक्टर रोपाइँ हुने क्षेत्र रहेकाेमा तीन लाख ७५ हजार ६ सय १४ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । अघिल्लो वर्ष मधेस प्रदेशमा ८९ दशमलव दुई प्रतिशतमा मात्रै रोपाइँ सम्पन्न भएको थियाे ।

यसैगरी, बागमती प्रदेशमा यस वर्ष ९९ दशमलव दुई प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयले जानकारी दिएको छ । तथ्याङ्कअनुसार बागमतीमा एक लाख १२ हजार दुई सय ७३ हेक्टर खेतीयोग्य क्षेत्रफल रहेकाेमा एक लाख ११ हजार तीन सय ५१ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको कृषि मन्त्रालयले जानकारी दिएकाे छ । अघिल्लो वर्ष यस प्रदेशमा ९३ दशमलव तीन प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

यस वर्ष गण्डकी प्रदेशमा भने ९७ दशमलव ८ प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ । यस प्रदेशमा धान रोपाइँ हुने क्षेत्रफल ९६ हजार ५३ रहेकाेमा ९३ हजार नौ सय २१ क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो । अघिल्लो वर्ष गण्डकी प्रदेशमा ९५ दशमलव तीन प्रतिशतमा रोपाइँ सम्पन्न भएको थियो ।

यसैगरी, लुम्बिनी प्रदेशमा ९८ दशमलव तीन प्रतिशतमा यस वर्ष रोपाइँ सम्पन्न भएकाे मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार यस प्रदेशमा तीन लाख ११ हजार ६ सय ४३ हेक्टर धान रोपाइँ हुने क्षेत्रफल रहेकामा तीन लाख ६ हजार तीन सय ७७ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । अघिल्लो वर्ष लुम्बिनी प्रदेशमा ९५ प्रतिशत मात्रै रोपाइँ भएको थियो ।

यसैगरी, कर्णाली प्रदेशमा यस वर्ष ९९ दशमलव दुई प्रतिशतमा रोपाइँ सम्पन्न भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । कर्णाली प्रदेशमा ४१ हजार नौ सय चार हेक्टर धान रोपाइँ हुने क्षेत्रफल रहेकामा यस वर्ष ४१ हजार पाँच सय ७८ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । अघिल्लो वर्ष ९८ दशमलव पाँच प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

यो वर्ष सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत नै रोपाइँ सम्पन्न भइसकेको मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । यस प्रदेशमा एक लाख ७४ हजार पाँच सय ७६ हेक्टर धान रोपाइँ हुने क्षेत्रफल रहेकामा एक लाख ७४ हजार पाँच सय एक हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । अघिल्लो वर्ष सुदूपश्चिम प्रदेशमा भने ९४ दशमलव ६ प्रतिशत रोपाइँ भएको थियो ।

कृषि मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले यस वर्ष रासायनिक मलको सहज उपलब्धता र किसानका लागि मनसुन सुखद रहेको कारण झन्डै चार प्रतिशतले रोपाइँ बढेको जानकारी दिए । “अघिल्लो वर्षहरूका तुलनामा यस वर्ष धान रोपाइँको अवस्था राम्रो रहेको छ,” उनले भने, “यदि अब खडेरी परेन र धान भित्र्याउने बेलामा ठूलो वर्षा भएन भने १० प्रतिशतले धान उत्पादन बढ्नेछ ।”

प्रतिक्रिया दिनुहोस