गुडिरहेको माइक्रोबसमा ढुङ्गा खस्दा दुईजना घाइते

रासस

बुधबार, ०५ भदौ २०८१, १६ : १५
गुडिरहेको माइक्रोबसमा ढुङ्गा खस्दा दुईजना घाइते

भरतपुर । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा गुडिरहेको माइक्रोबसमा माथिबाट ढुङ्गा खस्दा  दुईजना घाइते भएका छन् । 

भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा काठमाडौँबाट नारायणगढतर्फ आइरहेको बा प्र ०१–००६ ख ६४१४ नम्बरको माइक्रोबसमा ढुङ्गा खस्दा देबचुली नगरपालिका–१३ का ३० वर्षीया कल्पना परियार र उनकी आठ वर्षीया छोरी कन्चन परियार घाइते भएका हुन् । दुवै जना सोही माइक्रोबसका यात्रु हुन् । 

घाइते दुवैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनीहरूको अवस्था सामान्य छ । माथिबाट ढुङ्गा खसेर माइक्रोबसमा समेत क्षति पुगेको छ । उक्त  सडकखण्डमा बर्सातको समयमा पटकपटक पहिरो जाँदा सडक अवरुद्ध हुनुका साथै मानवीय क्षति हुँदै आएको छ । दुई दिनदेखि चितवन आसपासको क्षेत्रमा निरन्तर पानी परिरहेकाले अत्यावश्यक बाहेक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय चितवनले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस