टीआरसी विधेयक राष्ट्रिय सभाबाट बिहीबार पारित गर्ने तयारी

सफल खबर संवाददाता

सोमबार, ०३ भदौ २०८१, १९ : ०७
टीआरसी विधेयक राष्ट्रिय सभाबाट बिहीबार पारित गर्ने तयारी

काठमाडौँ । राष्ट्रिय सभाबाट टीआरसी विधेयक बिहीबार पारित गर्ने तयारी भएको छ ।

आइतबार सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ पेस गरेका थिए ।

राष्ट्रिय सभामा छलफलपछि बिहीबार विधेयक पारित गर्ने तयारी रहेको गृह मन्त्री रमेश लेखकले बताए ।

प्रज्ञा प्रतिष्ठानमा चौपातो नेपालले गरेको कार्यक्रममा उनले भने, ‘१८ वर्षसम्म अलमलमा परेर निष्कर्षमा पुग्न नसकेको शान्ति प्रक्रियाको बाँकी काम टीआरसी विधेयकलाई प्रतिनिधि सभाबाट पारित गरिसकेका छौँ । भाद्र ६ गते त्यो राष्ट्रियसभाबाट पारित गरेर चाँडै सङ्क्रमणकालीन न्यायका विषयहरूलाई सम्बोधन गर्छौँ ।’

टीआरसी विधेयक यसअघि प्रतिनिधि सभाबाट पारित भइसकेको छ । १८ वर्षदेखि सत्ताको दाउपेचको कारणले टुंगिन नसकेको विधेयक काँग्रेस, एमाले र माओवादी केन्द्रले शीर्ष तहमा सहमति जुटाएपछि विधेयक पारित गरेर शान्ति प्रक्रियाको बाँकी काम टुंगोमा पुग्ने भएको हो ।