दुईवटा पोखरी फुटेर थामेमा बाढी, थप दुई पोखरी उच्च जोखिममा

सफल खबर संवाददाता

शनिबार, ०१ भदौ २०८१, १४ : २०
दुईवटा पोखरी फुटेर थामेमा बाढी, थप दुई पोखरी उच्च जोखिममा

विराटनगर । थामे गाउँ माथि रहेको दुईवटा पोखरी फुटेर थामे खोला र दुधकोशी नदीमा बाढी आएको स्थलगत अध्ययन टोलीले निष्कर्ष निकालेको छ ।  शुक्रबार करिब दुई बजेको समयमा जिल्ला सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे स्थित थामे खोलामा पानीको बहाव बढेको थियो ।

रक्षामन्त्री मानवीर राईसहितको अध्ययन टोलीले अझै २ वटा पोखरी उच्च जोखिममा रहेको जानकारी दिएको हो । बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न शनिबार रक्षामन्त्री राईको नेतृत्वमा सङ्घीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोली पुगेको थियो ।

टोलीमा रहेकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले भनिन्, ‘स–साना पाँचवटा ताल रहेछन्, त्यसमध्ये दुईवटा फुटेको रहेछ । अरु दुईवटा जोखिममा देखियो । एउटा भने सुरक्षित रहेको छ ।’ यसले दुधकोशी नदी तटीय क्षेत्रमा जोखिम कायम रहेकाले सचेत रहन अनुरोधसमेत गरिएको छ ।

 

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको कारण वा अन्य कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालहरू मध्य कुनै हिमताल विस्फोट भएको हुन सक्ने जनाएको थियो । 

थामे खोलामा एक्कासी बाढी आएको घट्नाको प्रारम्भिक अध्ययन गर्दा थामे खोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा साना ठुला गरी ६ वटा हिमताल तथा हिमपोखरीहरू रहेको विज्ञप्तिमा उल्लेख थियो । यस्तै उक्त क्षेत्रको नजिक रहेको फोर्त्से केन्द्रमा विगत ७ दिनमा कुल ६५ मिमि वर्षा मापन भएको र  साउन २५ गतेदेखि दैनिक औसत तापक्रममा क्रमिक वृद्धि भएको पाइएको विज्ञप्तिमा उल्लेख छ ।  तापक्रम बढ्दै जाँदा साउन ३१ गतेको अधिकतम तापक्रम १५.९ डिग्री सेल्सियस  पुगेको विभागको भनाइ छ । 

‘अतः माथि उल्लेख भएबमोजिमका विभिन्न प्रारम्भिक जानकारीबाट निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको कारण वा अन्य कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालहरू मध्य कुनै हिमताल विस्फोट भएको हुन सक्ने देखिन्छ’, विज्ञप्तिमा भनिएको छ ।

बाढीका कारण क्षति
बाढीका कारण एउटा विद्यालय, एउटा किल्निक, ७ वटा घर र ५ वटा होटलमा पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । त्यस्तै ७ वटा घर जोखिममा रहेको बताइएको छ । 

 

पानीको बहाव घट्दै गएता पनि कटानको कारण माथिल्लो तटिय क्षेत्रमा जोखिम रहेको र तल्लो तटिय क्षेत्रमा कटानको कारण जिल्ला सोलुखुम्बु माप्य दुधकोशी गापा–६ बोदेबहर बलेखा बस्ने ५ घरका मानिसहरुलाई नेपाल प्रहरीले सुरक्षित स्थानतर्फ सारेको छ ।

त्यस्तै सोताङ गाउँपालिका–१ दिप्ली घाटस्थित पुरानो बेलि बृजको सामान निकालेर स्टोर गरी राखेको सामानहरु बगाएर लगेको पनि प्रहरीको भनाई छ । यस्तै माप्य दुधकोशी गाउँपालिका–१ अधेरीस्थित खुम्बु क्षेत्र जोड्ने दुधकोशी खोलाको पक्की पुलको एकतर्फि भासिएको छ । 

 

बाढीका कारण माथिल्लो भेगको खुम्बु पासाङल्हामु गाउँपालिका–३ जोर सल्लेमा खोलाको कटानले फाक्दिनदेखि नाम्चे जाने पैदल गोरेटो बाटो दुई ठाउँमा अन्दाजी  १००/१०० मिटर कटान गरी लगेको छ । बाढीको खबर प्राप्त हुना साथ नाम्चेबाट प्रहरी र नेपाली सेनाको टोली खटिएको थियो । साथै अन्य प्रहरी युनिटहरुबाट समेत प्रहरी परिचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस