भारत नाघेर नेपाल प्रवेश गर्न खोज्दै बंगलादेशी शरणार्थी

सफल खबर संवाददाता

मंगलबार, २९ साउन २०८१, १६ : ५०
भारत नाघेर नेपाल प्रवेश गर्न खोज्दै बंगलादेशी शरणार्थी

विराटनगर । बंगलादेशमा देखिएको राजनीतिक संकट र हिंसाका कारण भारतको बाटो हुँदै बंगलादेशी नागरिक नेपाल प्रवेश गर्न प्रयासरत देखिएका छन् । भारतको जोगबनीबाट विराटनगरको रानी नाका हुँदै बंगलादेशका नागरिकले नेपाल प्रवेश गर्ने प्रयास गरिरहेका छन् । तीमध्ये केहीलाई प्रहरीले फिर्ता पठाएको छ ।

बंगलादेशमा हिंसा बढेसँगै कोशी प्रदेशका सीमा नाकाहरूमा सुरक्षा अवस्था कडा पारिएको छ । सुरक्षा अवस्था कडा पारिएकाले नेपाल प्रवेश गर्न खोज्ने बङ्गलादेशी नागरिक सीमाबाटै फिर्ता भएको प्रहरीको दाबी छ । बंगलादेशमा चुलिएको राजनीतिक संकट र हिंसाका कारण देश छाडेका बंगलादेशीहरू नेपाल समेत प्रवेश गर्न खोजेका छन् ।

नेपाल प्रवेश गर्न खोज्ने दुईजना बंगलादेशी नागरिकलाई मंगलबार दिउँसो फिर्ता पठाइएको छ । फिर्ता पठाइएकामा एक पुरुष र एक जना वृद्धा महिला छन् । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार बंगलादेशको घाना गोदागाडीका ४९ वर्षीय करिम मोहम्मद रिजाउल र ६३ वर्षीया जायदा बेगमलाई फिर्ता सीमा नाकाबाट फिर्ता पठाइएको पठाइएको हो ।

उनीहरू भारतीय नागरिकको समूहमा मिसिएर अनधिकृत रूपमा नेपाल प्रवेश गर्न खोजेको भट्टराईले बताए । प्रहरीले चेकजाँच गर्ने क्रममा दुवै जनाको साथबाट बंगलादेशको नागरिक रहेको प्रमाणित हुने राहदानी फेला परेको थियो । त्यसपछि उनीहरूलाई भारततिर नै फिर्ता पठाइएको हो ।

यसअघि पनि जोगवनीबाट नेपाल प्रवेश गर्न खोजेका २ जनालाई प्रहरीले फिर्ता पठाएको थियो । प्रहरीका अनुसार बंगलादेश टाङगाई पूरा बरीका ४६ वर्षीय उत्तम सरकारलाई साउन २२ गते प्रहरीले फिर्ता पठाएको थियो ।

बंगलादेशी नागरिक प्रवेश गर्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाल-भारत सीमा क्षेत्रमा कडाइ गरिएको छ । मोरङको रानी नाकमा मात्रै नभई काँकडभिट्टा नाकामा पनि सतर्कता अपनाइएको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।उनले झापामा अहिले सम्म नेपाल प्रवेश गर्ने बंगलादेशी नागरिक फेला नपरेको बताए ।

प्रतिक्रिया दिनुहोस