जसपा नेपालको बैठकमा दुई दिनदेखि प्रशिक्षण

सफल खबर संवाददाता

मंगलबार, २९ साउन २०८१, ११ : ५६
जसपा नेपालको बैठकमा दुई दिनदेखि प्रशिक्षण

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालको केन्द्रीय समितिको तेस्रो दिनको बैठक जारी छ ।साउन २७ गतेदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा सोमवारदेखि केन्द्रीय सदस्यहरूलाई अभिमुखीकरण तथा प्रशिक्षण दिने कार्यक्रम सुरु भएको केन्द्रीय सदस्य पूर्ण बस्नेतले बताए ।

उनका अनुसार आजको बैठकमा अध्यक्ष उपेन्द्र यादवले नेपालको वर्तमान राष्ट्रिय राजनीति सन्दर्भमा हाम्रो पार्टीको भूमिका र जसपा नेपालको आदर्श, वैचारिक एवम् सैद्धान्तिक अवधारणा विषयमा नेताहरूलाई प्रशिक्षण दिनेछन् ।

प्रशिक्षण सम्पन्न भएसँगै आइतबार बैठकमा प्रस्तुत गरिएको पार्टीको राजनीतिक एवम् सङ्गठनात्मक  कार्यक्रम, कार्ययोजना तथा समसामयिक राजनीतिक प्रस्तावहरूमाथि छलफल हुने उनले बताए । 

बैठकले केन्द्रीय समिति सदस्यहरूलाई आधारभूत संगठन निर्माण अभियानमा खटाउने गरी कार्यविभाजन गर्ने बताइएको छ । बैठक बुधबारसम्म चल्ने बताइएको छ ।