आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै, मूल समारोहमा राष्ट्रपति पनि सहभागी हुने

सफल खबर संवाददाता

सोमबार, २८ साउन २०८१, ०९ : ०५
आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै, मूल समारोहमा राष्ट्रपति पनि सहभागी हुने

काठमाडौं । २५ औं अन्तर्राष्ट्रिय युवा दिवस आज नेपालमा पनि मनाइँदै छ । ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने नारासहित नेपालमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउन लागिएको हो ।

दिवसको अवसरमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदको आयोजनामा राष्ट्रपति रामचन्द्र पौडेलको सहभागितामा मूल समारोह हुँदै छ । त्यसअघि बिहान सात बजे काठमाडौंको भृकुटीमण्डपबाट युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अगुवाइमा प्रभातफेरि आयोजना हुँदै छ ।

त्यसपछि बिहान नौ बजेपछि होटल याक एण्ड यतीमा राष्ट्रपतिले मूल समारोह उदघाटन गर्ने छन् । उदघाटन समारोहपछि युवाका सरोकारका विषयमा युथ समिट (युवा सम्मेलन) हुने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

सन् १९९८ अगस्ट ८–१२ तारिखमा संयुक्त राष्ट्रसंघको समन्वयमा पोर्चुगलको लिसवनमा १४० देशका युवा मामिला हेर्ने मन्त्रीहरूको सहभागितामा विश्व सम्मेलन भएको थियो । सम्मेलनले आआफ्ना देशमा राष्ट्रिय युवा नीति तर्जुमा गर्ने साझा प्रतिवद्धता सहित ८८ बुँदे लिसवन घोषणापत्र जारी गरेको थियो । सन् १९९९ को डिसेम्वर १७ मा बसेको राष्ट्रसंघको ५४औं महासभाले उक्त प्रस्ताव अनुमोदन गरेपछि सन् २००० बाट हरेक वर्षको अगष्ट १२ को दिनलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउन थालियो ।

नेपालमा दिवस मनाउन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा ३७१ सदस्यीय ‘अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समिति’ गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस