टीआरसी प्रतिवेदन आज प्रधानमन्त्रीसहित शीर्ष नेतालाई बुझाइँदै

सफल खबर संवाददाता

बुधबार, २३ साउन २०८१, ०९ : ४८
टीआरसी प्रतिवेदन आज प्रधानमन्त्रीसहित शीर्ष नेतालाई बुझाइँदै

काठमाडौ । बेपत्ता छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न बनेको विधेयक (टीआरसी) सम्बन्धमा सहमति जुटाएको तीन दलीय कार्यदलले आफ्नो प्रतिवेदन आज प्रधानमन्त्रीसहित शीर्ष नेतालाई बुझाउने भएको छ।

कार्यदलका सदस्य तथा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार अहिले बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिवेदन बुझाउने कार्यक्रम छ। 

टीआरसी कार्यदलमा गृहमन्त्री रमेश लेखक, एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा सदस्य छन्। 

टीआरसीका विवादित विषयमा कार्यदलले यही साउन १७ गते सहमति जुटाएको थियो । जसमा द्वन्द्वकालीन समयमा नियतवश वा स्वेच्छाचारी तरिकाले भएका हत्यालाई गम्भीर मानवअधिकार उल्लंघनमा राख्ने उल्लेख छ।

यस्तै यौनजन्य घटनालाई पनि गम्भीर अपराधमा समेटिएको छ। अनि बहिर्गमित लडाकु र द्वन्द्वबाट प्रभावित सुरक्षाकर्मीका परिवारलाई पनि राहत परिपूरणको व्यवस्था गर्ने सहमति भएको छ।

प्रतिक्रिया दिनुहोस