किष्ट बैंकका तत्कालिन प्रबन्ध सञ्चालक कमल ज्ञवाली भारतबाट पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १९ असोज २०७५, १८ : ४६
किष्ट बैंकका तत्कालिन प्रबन्ध सञ्चालक कमल ज्ञवाली भारतबाट पक्राउ

काठमाडौं । किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवालीलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले भारतबाट पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाले दिएको जानकारी अनुसार ज्ञवालीलाई भारतबाट पक्राउ गरी काठमाडौँ ल्याइएको छ । 
जम्को प्रकाशनका नाममा कमसल धितो मूल्याङ्कन गरी ६ करोड बराबरको सम्पत्तिको सिद्धार्थ डेभलपमेन्ट बैंकबाट ३ गुणा बढी कर्जा प्रवाह गरेको अभियोगमा प्रहरीले अनुसन्धान सुरु गरेदेखि नै ज्ञवाली फरार रहँदै आएका थिए ।

किष्ट बैंकमा सञ्चालक र सीइओ दुबैको भूमिकामा रहँदा श्रीमती संलग्न रहेको संस्थालाई ऋण दिएर सो ऋण आफैँले घरजग्गामा लगानी गरी दुरुपयोग गरेको तथ्य फेला परेपछि उनीविरुद्ध मुद्दा दर्ता भएको थियो ।

पक्राउ परेका ज्ञवालीलाई तत्कालीन किष्ट बैंक अहिलेको प्रभु बैंकका कार्यकारी अधिकृत कुमार लम्सालको जाहेरीमा काठमाडौँ जिल्ला अदालतले २०७४ जेष्ठ ४ गते किर्ते जालासाँझी मुद्दामा २९ लाख बिगो जरिवाना तिराउने आदेश दिएको थियो ।

यसपछि कर्जा दुरुपयोग र बैंकिंग कसुर गरेको मुद्दामा तत्कालिन पाटन पुनरावेदन अदालतले ४ वर्ष कैद सहित ४ करोड २६ लाख बढी जरिवाना हुने फैसला गरेको थियो । नेपाल राष्ट्र बैंक बादी रहेको सो मुद्दामा २३ जनाविरूद्ध मुद्दा दायर गरेकोमा २३ जनामध्ये ८ जनालाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला सुनाएको थियो ।

२०७३ सालमा तत्कालीन पुनरावेदन अदालत ९हाल उच्च अदालत० पाटनका न्यायधीशहरु चण्डीराज ढकाल र किशोर सिलवालको इजलासले ज्ञवाली र उनकी श्रीमतीलाई दोषी ठहर गर्दै बैंकिङ्ग कसुर तथा किर्ते जालसाजी मुद्दामा दोषी ठहर गरेको थियो ।

यो पनि

बैंकिङ ज्ञान नभएका कमल ज्ञवाली कसरी भएका थिए तत्कालिन किष्ट बैंकका सिइओ ? यस्तो छ नालीबेली

प्रतिक्रिया दिनुहोस