चितवनमा लागु औषध रोकथाम अभियान

सफल खबर संवाददाता

शुक्रबार, १९ असोज २०७५, १७ : ५९
चितवनमा लागु औषध रोकथाम अभियान

–आनन्द पोखरेल 
चितवन । चितवनको भरतपुर महानगरपालिकालाई लागु औषध मुक्त नगर बनाउने उद्देश्यले विभिन्न सचेतनामूलक कार्यक्रमहरु हुँदै आएका छन् । लागु औषध रोकथाम अभियान सञ्चालन गरेर महानगरपालिकाको २९ वटै वडामा स्थानीय बासिन्दाको सहभागितामा सचेतनामूलक कार्यक्रम गरिदै आएको छ । सन्देश फाउन्डेशन नेपाल तथा रिकभरिङ नेपाल महासंघको संयुक्त आयोनजामा हुँदै आएको कार्यक्रमले भरतपुरको वडा नम्बर १९ देखि २९ सम्म ११ वटा वडामा सचेतनामूलक कार्यक्रम गरिसकेको कार्यक्रम संयोजक दिवाकर श्रेष्ठले जानकारी दिए । 

यसै सन्दर्भमा शुक्रबार भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा गरिएको कार्यक्रममा वक्ताहरुले लागु औषधको सेवनबाट घर, परिवार तथा समाजबाट तिरस्कार हुने भएकाले यसको प्रयोग नगर्न आग्रह गरेका थिए । कार्यक्रममा वडा नम्बर १९ का अध्यक्ष कर्णबहादुर गुरुङले बालबालिकालाई चेतना दिँदै असल मार्गमा हिँड्नका लागि सबैले सहयोग गर्नुपर्ने बताए । अभिभावकहरु व्यस्त हुने र आफ्ना सन्तानलाई माया र ममताको स्थानमा पैसा मात्रै दिने प्रवृत्तिले अधिकांश किशोरवस्थाका बालबालिकाहरु लागु औषध दुव्र्यसनीमा फसेका गुरुङको भनाइ छ । सो कार्यक्रममा नेपाली काँग्रेस चितवनका पूर्व सभापति तोपमान सिंह गुरुङले लागु औषध प्रयोग विश्वकै समस्या भएकाले यसको रोकथामको लागि विशेष योजना चाहिने बताए । महानगरपालिका र हरेक वडाले लागु औषध रोकथाममा लाग्दै यसका लागि छुट्टै बजेट छुट्याउनुपर्नेमा गुरुङले जोड दिए । सचेतनामूलक कार्यक्रममा पूर्व लागु औषध प्रयोगकर्ता एवम् सन्देश फाउन्डेशन नेपालका कलाकार रमेश घताने र गोकुल कंडेलले लागु औषध प्रयोगकर्ता हुँदा समाज र परिवारबाट समेत हेला भएको अनुभव सुनाउँदै लागु औषधको सेवन नगर्न सुझाव दिएका थिए । सांगीतिक क्षेत्रमा राष्ट्रिय स्तरमा स्थापित हुने क्रममा नशाका कारण आफूहरुको भविष्य बिग्रिएको भन्दै उनीहरुले आफूहरुको जस्तो जीवन अरुले बिताउन नपरोस् भनेर सन्देशमूलक गीतहरु प्रस्तुत गरेको बताए । 

रमेश घताने, गोकुल कंडेल, पूर्व लागु औषध प्रयोगकर्ता
सो कार्यक्रममा जिल्ला प्रशासन कार्यालय चितवनका प्रतिनिधि रामबाबु श्रेष्ठले लागु औषध प्रयोकर्ताको अवस्था भयावह रहेको उल्लेख गर्दै भरतपुर कारागारमा मात्रै १८ देखि २६ वर्षसम्मका एक सय २८ जना युवाले कैद सजाय भोगिरहेको बताए । भरतपुर कारागारमा काराबास भोगिरहेका मध्ये १३ जना लागु औषध प्रयोगकर्ताको हालसम्म कारागारमा नै ज्यान गएको श्रेष्ठको भनाइ छ । लागु औषध दूव्र्यनी रोक्नका लागि घर परिवारबाट नै सचेतनामूलक कार्यक्रम ल्याउनुपर्ने श्रेष्ठले बताए । पूर्व लागु औषध प्रयोगकर्ता एवम् रिकभरिङ नेपाल महासंघ चितवनका कार्यक्रम संयोजक मनिस न्यौपानेले चाहने हो भने व्यक्तिले लागु औषध त्याग्न सक्ने बताए । नशारहित जीवनमा सबैको माया, प्रेम, स्नेह पाइने उल्लेख गर्दै आफ्ना बालबालिकाहरुको हरेक आनीबानी अभिभावकले नजिकबाट नियाल्नु जरुरी रहेको न्यौपानेको भनाइ छ । समाजमा हुने अपराधिक घटनामध्ये १३ प्रतिशत घटनाहरु लागु पदार्थ दूव्र्यसनी तथा मदिरा सेवनकर्ताबाट हुने गरेको उल्लेख गर्दै न्यौपोनले लागु औषध दूव्र्यसनी न्यूनीकरण गर्न सकेमा अपराधिक क्रियाकलापमा समेत कमी आउने बताए । वडा नम्बर १९ का जनप्रतिनिधिसहित टोल विकास संस्था, आमा समूह, युवा क्लबका अध्यक्ष एवम् प्रतिनिधिहरु सहभागी भएको कार्यक्रममा गृह मन्त्रालय उच्च स्तरीय लागु औषध नियन्त्रण तथा निर्देशन समितिका सदस्य गौरवबाबु ढकालले युवा तथा किशोर अवस्थाका व्यक्तिहरुलाई लागु औषधबाट मुक्त पार्न सकिएन भने सरकारले ल्याएको सुखी नेपाली समृद्ध नेपालको परिकल्पना पुरा गर्न नसकिने बताए । नेपालमा १६ लाख भन्दा बढी युवाहरु लागु औषधको दूव्र्यसनीमा परेकाले यसको रोकथामका लागि घर परिवार तथा समाजबाट नै पहल हुनुपर्ने ढकालको भनाइ छ ।   
 

प्रतिक्रिया दिनुहोस