पप्पु कन्सट्रक्सन : सांसद हरिनारायण रौनियारको सांसद् पद निलम्बनमा

सफल खबर संवाददाता

शुक्रबार, १९ असोज २०७५, १६ : ३९
पप्पु कन्सट्रक्सन : सांसद हरिनारायण रौनियारको सांसद् पद निलम्बनमा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार र हालका अध्यक्ष उनका छोरा सुमित रौनियारसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाका अनुसार बबई पुल गुणस्तरहीन बनाएकाले निर्माणमा संलग्न आयोजना प्रमुख, कर्मचारी र ठेकेदारसहित १२ जनाविरुद्ध मुद्दा दायर भएको हो।

बर्दियाका गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई पुल पुप्पु कन्स्ट्रक्सनले बताएको थियो। पुल गुणस्तरहीन बनाएको भन्दै सर्वत्र विरोध भएको थियो। गुणस्तरहीन भएको गुनासो आएपछि अख्तियारले अनुसन्धान थालेको थियो।

संघीय समाजवादी फोरमका प्रतिनिधिसभा सांसद हरिनारायण रौनियार पप्पु कन्स्ट्रक्सनका संस्थापक हुन्। उनी पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन्। मुद्दा दर्ता भएसँगै उनको सांसद पद स्वतः निलम्बनमा परेको छ।

पप्पु कन्स्ट्रक्सनबाट बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग भएको, पुल बनाउँदाखेरि नै बांगो देखिएको र उद्घाटन नहुँदै भत्किएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

आयोगबाट अनुसन्धान हुँदा डिभिजन सडक कार्यालय नेपालगन्ज र पप्पु कन्स्ट्रक्सन, पोखरियाबीच पुल निर्माणका लागि २०६८ असार २२ गते सम्झौता भएपछि बबई पुल निर्माणको प्रारम्भिक चरणदेखि अन्तिम चरणसम्मको अवस्थालाई हेर्दा निर्माण अवधिमा संलग्न सबै प्राविधिक कर्मचारीहरुबाट भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। यसरी भएको त्रुटिपूर्ण कार्यलाई स्वीकार गरी गुपचुप रुपमा कार्य गरेको, फिल्डको नाँपजाँच हचुवाको भरमा गरेको आरोपत्रपमा उल्लेख छ।

गुणस्तर प्रमाणित नभईकन नै भुक्तानी सिफारिस गरेको, डिजाइन बमोजिम नभएको अख्तियारको भनाइ छ।  डिजाइन बमोजिम निर्माण नगरेको तथा निर्माण भएकोहरुमा समेत गुणस्तरहीन भएकाले लोड लिन नसकी पुल भास्सिएको प्रविधिक परीक्षण तथा विश्लेषणबाट समेत पुष्टि हुन आएको आरोपपत्रमा उल्लेख छ।

 

 

प्रतिक्रिया दिनुहोस