विश्व मुस्कान दिवस

मुस्कान : ईश्वरले दिनुभएको करोडौँ उपहार

सफल खबर संवाददाता

शुक्रबार, १९ असोज २०७५, १६ : १४
मुस्कान : ईश्वरले दिनुभएको करोडौँ उपहार

बाबु किस्मत
चितवन । प्रत्येक वर्ष अक्टोबर महिनाको पहिलो शुक्रवार विश्वभर मुस्कान दिवस मनाइन्छ । आज त्यहि दिन हो । मुस्कान सबैको लागि महत्वपूर्ण भएकाले मुस्कानको महत्वलाई आत्मसाथ गर्न मुस्कान दिवस मनाइएको पाइन्छ । 
पैसा नलाग्ने चिज हो मुस्कान, तर पनि मानिस किन कञ्जुस्याइँ गरिरहेको छ, अचम्म लाग्छ । मुस्काउन हामी किन जान्दैनौँ, मलाई यही कुराले बेलाबेला पिरोल्छ । ए बाबा पैसा लाग्दैन, केही खर्च हुँदैन । मिहिनेत गर्नैपर्दैन । खिसिक्क हाँसिदिए पुग्छ, तर पनि हामी किन हाँस्दैनौँ ।
एक चीज, जो हामीसित छ । जो हर कोहीलाई दिन सक्छौँ । दिएर कोही सानो हुँदैन, बरु उसको हाइट बढ्छ । तरपनि हामी लोभ गरिरहेका छौँ हाँस्न । बाटोमा हिँड्दाहिँड्दै कसैसँग ठेस लाग्यो, मानौँ उसको गल्ती थियो होला, हामी आफैँले मुस्कान दिएर सरी भनौँ न । के बिग्रन्छ । रिस त शत्रु हो । यसले शत्रुता जन्माउँछ । मुस्कान मित्र हो, यसले मित्रता जन्माउँछ । एउटा मिठो मुस्कान, जसको मोल करोडौँको छ, जो अनमोल छ । यो जति दिए पनि बाँचुन्जेल रितिन्न । 
मुस्कान हरेकसँग हुन्छ । मुस्कुराउन हरेकले जानेको हुन्छ । तर पनि हामीलाई गाह्रो हुन्छ । मानौँ हरेक पटक मुस्कुराएको बदलामा नगरपालिकालाई ट्याक्स भर्नु परेजस्तो गरेर हामी हाँस्दैनौँ । मानौँ हरेक पटक मुस्कुराउँदा उसको गोजी रित्तिएको जस्तो गर्छौ । मुस्कुराउनु व्यर्थ हो जस्तो गर्छौँ । मुस्कुराउँदा अनिष्ट हुन्छजस्तो गर्छाँ । मानौँ मुस्कुराउँदा अस्वस्थ भइन्छजस्तो गर्छौँ । चिकित्सकहरु त झन रिसाहा मानिसभन्दा मुस्कुराउने मानिस स्वस्थ हुन्छ भनेर भनिरहेका छन् । 
म बजारमा किनेमल गर्न जान्छु, कति पसलका साहुजी मुस्कान दिएर सामान दिन जानेकै हुँदैनन् । सामान नकिनी छोडेर हिँडौँ जस्तो लाग्छ । कुनै पसलमा भएको सामानमा आँखा जान्छ तर साहुजीको ओठमा मुस्कान नभेट्दा आँखा अन्त मोडिन्छ । 

केही दिन अघि म एउटा पसलमा दसैँको सपिङ गर्न पुगेको थिएँ, दसैँका केही सामान किनेँ, र भने, ‘साहुजी मिलाउनूस् न !’ उसले भन्यो, ‘झोलामा मिलाएर दिन्छु ।’ मैले त पैसामा मिलाउन भनेको थिएँ । उसले जानीजानी अन्त कुरो मोड्यो । त्यसमा पनि नहाँसीकन । म त्यो सामान नकिनी अन्तै मोडिए । आखिरी के जान्छ उसको तर पनि मुस्कान आउँदैन । 
अझ केही व्यापारीहरु यसरी व्यवहार गर्छन् मानौँ उसले सामान फ्री मा दिनु परिरहेछ । डिस्काउन्टको कुरा त परै जाओस् पुरै पैसा तिरेर किन्न खोजेको सामानको भाउ भनिरहँदा पनि ऊसको अनुहारमा मस्कान भेटिदैन । बरु पिटूँला जस्तो गरी रिसाएको भेटिन्छ । मानौँ कब्जिएतले उसलाई बाल्यकालदेखि नै सताइरहेको छ ।
व्यवसायमा मात्र होइन, सरकारी कार्यालयका कर्मचारी पनि मुस्कानसहितको सेवा दिन कन्जुस्याइँ गर्छन् । बैँक, सार्वजनिक ठाउँ आदिमा कसैसित व्यवहार गर्नपूर्व मुस्कुराउने चलन हामीसित छैन । नेपालमा आएका पर्यटकहरुलाई हेरौँ त आँखा जुधिहाले पनि उनीहरु मुसुक्क हाँस्दै ‘हेलो’ भनिहाल्छन् । पर्यटकले मुस्कानसहितको हेलोभन्दा हामी उल्टै कुहिरे मुस्काउँछ भनेर रिसाउँछौँ । 
हामीलाई कसैसित बोल्नुपूर्व हाइ, हेलो भन्न वा मुस्कुराउन सिकाइएन । हामी पसलमा केही किन्न जाँदा ‘साहुजी बीस रुपियाँको बिस्कुट दिनुस् न,’ भनेर ठाडै बोल्छौँ । हामी यसरी भन्दैनौँ ‘एक्सक्यूजमी, केही सेवा गर्न सक्नुहुन्छ कि !’ हामीमा त्यो संस्कार कहिल्यै आएन । अरुलाई इज्जत दिन त हामीले कहिल्यै जानेनौँ तर अरुबाट इज्जत नपाएकोमा झोक्किँन भने कहिल्यै छाडेनौँ ।
कुनै पनि विषयमा मुस्कुराएर शुरुवात गर्न हामी कहिल्यै जानेनौँ । त्यसैले त हामी पछि परिरहेका छौँ । पहिला मुस्कुराउँदै ‘हाइ,’ या ‘हेलो,’ भन्देनौँ ओइ भनेर बोलाउँछौँ । ‘हाइ,’ ‘हेलो,’ भन्ने संस्कार हाम्रो मुलुकमा छैन । तर कमसेकम कसैसित कुनै कुरा सोध्दा, कसैको पसलमा केही खरीद गर्न जाँदा, पसलमा कोही ग्राहक आउँदा कम्तीमा हामी मुस्कुराइदिन त सक्छौँ । वास्तवमा कसैलाई देखेर मुस्कुराउनु भनेको एउटा सुमधुर सम्बन्धको ढोका खुल्नु जत्तिकै हो । तर पनि हामी मुस्काउँदैनौँ ।
 
मलाई उदेक लाग्छ, हजारौँ खर्च गरेर किनिने सामान किन्न जाँदा फुलेर बस्ने व्यवसायीदेखि, घन्टौँ कुरेर सेवा लिन जाँदा रिसाउने कर्मचारीदेखि, बाटोमा झुक्किएर ठोक्किदा रिसाउनेदेखि । कसैका अघिल्तिर मुस्कुराउनु यति ठूलो लगानी हो जसले कुनै बैँक, कुनै बित्तीय संस्थानले दिन नसक्ने ब्याज दिन्छ । जो सयौँको सामान हजारौँमा बेच्न जान्दछ, त्यो असली व्यापारी होइन । असली व्यापारी त्यो हो जो करोडौँको मुस्कान आफ्नो गाहकको स्वागत गर्न निःशुल्क खर्चन्छ ।
अन्त्यमा, कसैले सोध्न सक्छ, तपाईं हामीमा के चाहिँ यस्तो चिज छ, जसले सजिलै अरुलाई आकर्षित गर्न सक्छ ? त्यो चिजले हाम्रो मनोभाव हाम्रो व्यक्तित्वलाई दर्शाउने गर्दछ । यसमा धेरै सोच्नै पर्दैन, यो चिज हाम्रो मुस्कान हो । कुनै पनि औपचारिकता र मजबुरीबाट मुक्त हाम्रो मिठो मुस्कान । मुस्कान हाम्रो मनबाट निस्किएको एउटा यस्तो भाव हो जसले हाम्रो वरिपरिको मानिसलाई पनि खुशी तुल्याउँछ र सबैलाई आफूतर्फ आकर्षित गर्छ । आजको मुस्कान दिवसबाट हामीमा परिवर्तन आहोस् र  सबैलाई हाँसी खुशी बाँच्न प्रेरित गरोस् ।

प्रतिक्रिया दिनुहोस