काठमाडौं । नेपाली क्रिकेट टोलीले क्यानडा भ्रमणअघि भारतमा प्रशिक्षण गर्ने भएको छ । नेपालले क्यानडा भ्रमणलाई आइतबार रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्य टोली बन्द प्रशिक्षणमा बोलाएको छ । अघिल्लो महिना सम्पन्न टी–२० विश्वकप खेलेको टोलीमा रहेका तीव्र गतिका बलर प्रतिश जि.सी. र अभिनाश बोहरा बन्द प्रशिक्षणमा बोलाइएको छैन ।
नेपाल ए मा राम्रो प्रदर्शन गरेका बायाँहाते स्पिन अलराउण्डर बसिर अहमदले प्रशिक्षणमा फर्किने अवसर पाएका छन् । यस्तै टी–२० विश्वकप खेलेको टोलीमा नभएका देव खनाल, भीम सार्की, आरिफ शेख, अर्जुन साउद, आकाश चन्द, बसिर अहमद, सूर्य तामाङ र रिजन ढकाल पनि छन् ।
टोलीले एकहप्ता त्रिवि क्रिकेट मैदानमा फिटनेश ट्रेनिङ गर्नेछ, त्यसपछि भारत जाने तयारी छ । नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले भारतमा प्रशिक्षण गर्ने तयारीमा रहेको पुष्टि गरे । ‘पहिलो चरणमा टीयुमै आज वा भोलिबाट फिटनेशको अभ्यास हुनेछ । त्यसपछि भारतमा जाने छौं’, लामाले भने, ‘तर भारतको कहाँ र कति म्याच खेल्ने भन्ने छलफलमै छौं । टुङ्गो लागेपछि सार्वजनिक गर्छौं ।’
प्रशिक्षणमा बोलाइएका कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र स्पिनर सन्दीप लामिछाने ग्लोबल टी–२० क्यानडामा व्यस्त छन् । ग्लोबल टी–२० क्यानडा ११ अगष्टमा सकिने छ । त्यसपछि दीपेन्द्र र रोहित टी–१० लिग खेल्ने वेष्टइण्डिज जाने कार्यक्रम छ ।
तीनै जना सिधै क्यानडामा टोलीसँग जोडिनेछन् । तीव्र गतिका बलर गुल्शन झा भारतमै छन् । सोमपाल कामी र करण केसी भारतमा अभ्यास गरेर नेपाल फर्किसकेका छन् ।टी–२० विश्वकपपछि अमेरिकामा बस्दै आएका मुख्य प्रशिक्षक मोन्टी देशाई पनि नेपाल आएका छैनन् । उनी पनि सिधै भारत आउने तयारीमा छन् । ।
नेपालले आगामी सेप्टेम्बरमा क्यानडामा आईसीसी विश्वकप लिग–२ र त्रिकोणात्मक टी–२० आई सिरिज खेल्नेछ ।घरेलु टोली क्यानडा, नेपाल र ओमानबीच उक्त प्रतिस्पर्धा हुनेछ । लिग–२ मा १८ र २६ सेप्टेम्बरमा क्यानडा तथा २० र २४ सेप्टेम्बरमा ओमानसँग खेल्ने तालिका छ । यद्यपि आईसीसीले औपचारिक रुपमा खेल तालिका सार्वजनिक गरिसकेको छैन ।
त्यसपछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी–२० आई सिरिज पनि हुनेछ ।नेपाली टोली क्यानडाबाटै अमेरिका जानेछ । अक्टोबरमा नेपालले अमेरिकामा आईसीसी विश्वकप लिग–२ र त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने तालिका छ ।घरेलु टोली अमेरिकासँगै नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।
लिग–२ त्रिकोणात्मक सिरिज २०२७ सम्म चल्नेछ । प्रतियोगितामा नेपाल, अमेरिका, क्यानडा, स्कटल्यान्ड, नेदरल्यान्ड्स, यूएई, ओमान र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ । शीर्ष चारमा रहने टोलीले सोझै २०२७ को एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन् भने पुछारमा रहने चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।
२०२७ सम्म नम्वर वान एसोसिएट टोली हुने नेपालको लक्ष्य छ । यसका लागि लिग २ मा प्रदर्शन महत्वपूर्ण हुनेछ । सुरुवाती चार खेलमा नेपाल १ मा जितका साथ छैटौं स्थानमा छ । स्कटल्यान्ड ७ खेलमा ४ मा जित, २ मा हार र एक खेल नतिजा विहीन हुँदा ९ अंकका साथ शीर्ष स्थानमा छ । क्यानडा ४ खेलमा अपराजित रहँदै ८ अंकका साथ दोस्रो स्थानमा छ ।
नामिबिया ८ खेलमा समान चारमा जित र हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ । नेदरल्यान्ड्स ४ खेलमा ४ अंकका साथ चौथो र ओमान ३ अंकका साथ पाँचौं स्थानमा छ । युएई तीन खेलमा अंकविहीन हुँदै सातौं र अमेरिका एक खेल नखेली पुछारमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ साउन २०८१, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली क्रिकेट टोली भारत प्रस्थान
नेपालले भारतमा त्रिकोणात्मक सिरिज खेल्ने