सरकारका चार मन्त्रीले बुझाएन् अझैसम्म आफ्नो सम्पत्ती विवरण

सफल खबर संवाददाता

शुक्रबार, १९ असोज २०७५, १६ : १४
सरकारका चार मन्त्रीले बुझाएन् अझैसम्म आफ्नो सम्पत्ती विवरण

काठमाडौं : सरकार गठन भएको आठ महिना बितिसक्दा पनि अझै केही मन्त्रीहरुले सम्पत्ति विवरण बुझाएका छैनन् । सरकार गठन भएको एक महिनापछि प्रधानमान्त्री ओलीले चैत २९ गते सम्पत्ति विवरण बुझाएका थिए ।

भ्रष्टाचार निवारण ऐन २०५९ मा सार्वजनिक पद धारण गरेको ६० दिनमै सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख छ । सम्पत्ति विवरण सार्वजनिक नगर्नेमा उपप्रधानमन्त्रीदेखि राज्यमन्त्रीसम्म छन् । उपप्रधानमन्त्रीसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अझै सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । 

यादव गत जेठ १८ गते स्वास्थ्यमन्त्रीमा नियुक्त भएका थिए । यादवले मन्त्री पद धारण गरेको एक सयभन्दा धेरै दिन बितिसक्दा पनि उनले अझै सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । यादव संघीय समाजवादी फोरमबाट मन्त्री भएका हुन् ।

त्यस्तै, संघीय समाजवादी फोरमबाट नै सहरी विकासमन्त्री भएका मोहम्मद इस्तियाक राईले पनि सम्पत्ति विवरण बुझाएका छैनन् । यादव र राई एकै दिन मन्त्री नियुक्त भएका हुन् ।

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले पनि सम्पत्ति विवरण बुझाएका छैनन् । तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले साउन ८ गते राजीनामा दिएपछि ढकाल १८ साउनमा मन्त्री नियुक्त भएका हुन् । ढकाल मन्त्री नियुक्त भएको दुई महिना बितिसकेको छ । 

साउन १८ गते नै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त भएका डा. सुरेन्द्रकुमार यादवले पनि सम्पत्ति विवरण बुझाएका छैनन् । 

प्रतिक्रिया दिनुहोस