बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीबीच छलफल

सफल खबर संवाददाता

सोमबार, २१ साउन २०८१, ११ : ०६
बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीबीच छलफल

file Photo

काठमाडौँ । कोशीमा मन्त्री छान्न सकस भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन् । बैठक सभापति देउवा निवास बूढानीलकण्ठमा जारी छ । 

कांग्रेसभित्रको गुट व्यवस्थापन गर्न नसकेपछि कांग्रेस संसदीय दलका नेता उद्धव थापा काठमाडौँ आएका छन् । कोशीमा कांग्रेस एमालेबिच भएको सहमतिअनुसार कांग्रेसले चारवटा मन्त्रालय पाउने भएको छ । तर कांग्रेसभित्र डाक्टर शेखर कोइराला समूहले मन्त्रीको नाम पठाउन सकेको छैन । 

चार मन्त्रालयमध्ये कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा समूहबाट दुई जना, शेखर कोइराला समूहबाट १ जना र नेता कृष्णप्रसाद सिटौला गुटबाट एक जनालाई मन्त्री बनाउने संस्थापन पक्षको तयारी छ । यसमा शेखर कोइराला समुहले आफ्नो समूहबाट मन्त्री बन्ने आकाङ्क्षी धेरै भएको भन्दै न्यूनतम २ जना मन्त्री बनाउनुपर्ने बताउँदै आएको छ । 

चार मन्त्रालयमध्ये कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा समूहबाट दुई जना, शेखर कोइराला समूहबाट १ जना र नेता कृष्णप्रसाद सिटौला गुटबाट एक जनालाई मन्त्री बनाउने संस्थापन पक्षको तयारी छ । कोइराला समूहबाट मन्त्री बन्ने दौडमा रामकुमार खत्री, मानबहादुर लिम्बू, गोविन्द गिरी र इन्दिरा थापाले जोडबल गरिरहेको स्रोत बताउँछ ।

कोशीबाहेक साउन २३ गते बस्ने केन्द्रीय समिति बैठकको तयारीका विषयमा समेत पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस