बैंकिङ ज्ञान नभएका कमल ज्ञवाली कसरी भएका थिए तत्कालिन किष्ट बैंकका सिइओ ? यस्तो छ नालीबेली

सफल खबर संवाददाता

शुक्रबार, १९ असोज २०७५, १४ : ४३
बैंकिङ ज्ञान नभएका कमल ज्ञवाली कसरी भएका थिए तत्कालिन किष्ट बैंकका सिइओ ? यस्तो छ नालीबेली

काठमाडौँ : लामो समयदेखि फरार रहेका तत्कालिन किष्ट बैंकका सिइओ कमल ज्ञवाली शुक्रबार पक्राउ परेका छन् ।
कम मूल्यको धितो राखेर ३ गुणा बढी कर्जा प्रवाह गरेको अभियोगमा उनको समूहमाथि प्रहरी अनुसन्धान सुरु गरेसँगै फरार रहेका ज्ञवाली पक्राउ परेका हुन् ।
भारतको मथुरामा लुकीछिपी बसेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरिएको हो । उनी पक्राउ परेसँगै तत्कालीन किष्ट बैंक कसरी डुबाएका थिए भन्ने सर्वत्र चासो विषय बनेको छ ।
गुल्मीको मध्यमवर्गीय परिवारमा जन्मिएका ज्ञवाली उच्च शिक्षा अध्ययनका लागि ०५२ सालमा काठमाडौँ आएका थिए ।

उनी सुरुमा अध्यापन कर्ममा थिए । सुरुमा पढाउँथे । त्यसपछि उनी सिए पढ्न भनेर भारत गएका थिए । तर उनले सिएको पढाइ पूरा गर्न सकेनन् । उनी पटक पटक फेल भएपछी नेपाल फिर्ता आए । उनी खासै पढ्न अब्बल पनि थिएनन् । लहै लहैमा सिए पढ्छु भनेर भारत गएका थिए । उनीसंग बैंकिङ ज्ञान पनि थिएन । बस् पैसा कमाउनुपर्छ भन्थे । सिएको पढाइ बीचैमा रोकेर ज्ञवाली व्यापारमा होमिए । उनले ०५९ सालमा ५ करोड रुपैयाँमा किष्ट मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स खोले । १० हजार रुपैयाँ बोकेर काठमाडौं छिरेको उनले १५ वर्षमा उनले करिब तीन अर्ब रुपैयाँको हाराहारीमा सम्पत्ति कमाए । त्यसबेलै उनी १ करोड ६० लाख रुपैयाँमा किनेको ल्याण्डक्रुजर गाडी चढ्थे ।

त्यसबेला बैंकिङ क्षेत्रका ’राजा’ मानिन्थे उनी । शाखा भ्रमण गर्दा पनि हेलिकोप्टर लिएर जान्थे उनी । सफल बैंकर भनेकै कमल ज्ञवाली भन्नेको जमात ठुलो थियो । ०५९ सालमा ‘पावर टु सक्सिड’ नारा राखेर किष्ट मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स स्थापना गरे उनले । त्यसलाई ०६६ मा किष्ट बैंक बनाइयो । तत्कालीन अवस्थामा किष्टलाई उनले सबैभन्दा बढी शाखा भएको बैंक बनाए । तर अहिले परिस्थिति बदलिएको छ । कसैले खराब बैंकको नाम लिनुपर्यो भने उनैको नाम लिन्छन् ।
ज्ञवालीसँग मात्रै होइन, किष्टको सञ्चालक समितिका कसैसँग बैंकिङबारे ज्ञान थिएन । त्यही भएर ज्ञवालीलाई मनपरी गर्न सञ्चालक समितिले नै छुट दिएको थियो । उनले जे गरेपनि हुन्थ्यो । वाणिज्य बैंक बनाउने बेलामा भने ज्ञवालीले ज्ञानबहादुर जीसी, डा. दण्डपाणि पौडेल, अच्युतराज जोशी, बीएन घर्ती, बालकुमार पाण्डे जस्ता व्यावसायिक र नैतिकवान व्यक्तिहरूको टिम पाएका थिए । तर बैंकले आफ्नो गति छोडीसकेको थियो ।

किष्टलाई लिकमा ल्याउन धेरै प्रत्यन पनि भयो । त्यसबेला ज्ञवालीसँग अन्य टिमले ठूलो झगडा पनि गरे । तर कसैको केहि सिप लागेन ।
किष्टले वाणिज्य बैंकमा एकीकृत कारोबार थालेको दिन ०६६ बैशाख २४ गते तत्कालीन बैंकर्स संघका अध्यक्ष सशिन जोशी र धितोपत्र बोर्डका अध्यक्ष शुरवीर पौडेलले एक कार्यक्रममा किष्ट फाइनान्सबाट वाणिज्य बैंकमा स्तरोन्नति भएको भएपनि संस्थागत सुशासनमा समस्या भएको बताएका थिए ।

तर त्यहि कार्यक्रममा राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर वीरविक्रम रायमाझीले उनीहरुको कुरा काट्दै राष्ट्र बैंकलाई कसैले पनि सुशासनको कुरा सिकाउनु नपर्ने र किष्टको संस्थागत सुशासनमा कुनै समस्या नरहेको बताएका थिए । किष्टले एकीकृत कारोबार गरेको भोलिपल्ट साँझ सोल्टी होटलमा पार्टी गरेको थियो । डेपुटी गभर्नर रायमाझीले त्यस्तो जवाफ दिएकोले जोशी र पौडेल दुबैजना पार्टीमा गएनन् । त्यसो त, रायमाझीलाई राष्ट्र बैंकको गभर्नर बनाउन पैसा उठाएर नेताका घरमा जाने कामको नेतृत्व समेत उनै ज्ञवालीले गरेको चर्चा पनि चलेको थियो त्यतिबेला । जम्को प्रकाशनका नाममा किष्ट बैंकबाटै र सिद्धार्थ डेभलपमेन्ट बैंकबाट ऋण लिएर दुरुपयोग गरेको रहस्य खुलेपछि सुरु भएको ज्ञवालीको बदनामीको यात्रा अहिले उनी पक्राउ परेसम्म चलिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस