अमेरिकामा आफैँले बनाएको प्लेन चढ्ने एक नेपाली

सफल खबर संवाददाता

शुक्रबार, १९ असोज २०७५, १४ : २४
अमेरिकामा आफैँले बनाएको प्लेन चढ्ने एक नेपाली

काठमाडौँ । बालाजु नेपालटारका ४३ वर्षका रेग्मी दुई दशकअघि अध्ययनका लागि अमेरिका पुगेका थिए । नेपालटार छँदा उनको परिवारको मुख्य पेशा कृषि थियो । तर उनी इलेक्ट्रिक सब ओभरसिएर बने । समयसमयमा कम्पनी र कारखानाहरूको वायरिङको काम लिन्थे । 
शुरुमा बालाजुको विद्यालयमा अध्ययन गरेका प्रमोदले ५–६ कक्षा आनन्दकुटीमा पढे । २०४७ सालमा एसएलसी बालाजुको तरुण माध्यमिक उत्तीर्ण गरे । ‘सेकेन्ड डिभजिनमा पास भएको थिएँ,’ उनी सनाउँछन्, ‘त्यसपछि पिपुल्स र त्रिचन्द्रमा मानबिकी अध्ययन गरेँ । त्यो पढाइबाट खासै केही जानेको जस्तो लाग्दैन ।’ आफूले चाहेको जस्तो विषय खोज्दै एक दिन उनी बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टोक्नोलोजीमा भर्ना भए । ‘बल्ल जीवनमा केही पढेको जस्तो अनुभूति भयो,’ प्रमोदले सुनाए । २०५४ सालमा थप अध्ययनका लागि प्रमोद अमेरिका हानिए ।
‘पढाइ र कामले जताजता लैजान्छ त्यतै गइयो,’ प्रमोदले भने, ‘२००५ देखि एरिजोनामा छु ।’ इन्जिनियरिङको एउटा हाँगा बिल्डिङ आटोमेसन हो । यसले कम ऊर्जाबाट घरायसी प्रयोजनका काम गर्छ। प्रमोदको कामको क्षेत्र यही बिल्डिङ आटोमेसन हो ।
उनी बसोबास गर्ने एरिजोना राज्य उड्डयनको क्षेत्रका लागि विशेष स्थान हो। एरिजोनाका आकाशमा सधैँ फरकफरक किसिमका बिमान उडिरहेका देखिन्छन् । ३६५ दिनै राम्रोसँग विमान उडाउन मिल्ने मौसम हुन्छ । ‘काममा जाँदा पनि सानो प्लेनहरु उडेको देख्दा निकै रमाइलो लाग्थ्यो । मोटर नै रोकेर हेर्थें,’ प्रमोदले भने, ‘तर पैसा कमाउन गएको कारण सातामा ६ दिन दैनिक १२ घण्टाभन्दा बढी समय काम गर्थें । फुर्सद नै हुँदैनथ्यो ।’
आर्थिक संकटका कारण २००८ देखि काम गर्ने घण्टा कम हुन थाल्यो । ‘फुर्सदको त्यो समय आफ्नो शोखलाई पूरा गराउन काम शुरु गरेँ,’ प्रमोदले भने, ‘शुरुमा डेढ दुई सय डलर खर्च गरेर आफैँले रिमोट कन्ट्रोल प्लेन बनाएँ। पछि बिमान चलाउने सक्ने गरी तालिम र लाइसेन्स लिएँ ।’ तालिम र लाइसेन्स मात्र भएर पुगेन । चलाउन विमान आवश्यक र्पयो। ’व्यवसायिक उडान गर्ने होइन । अरुको भाडामा लिएर चलाउँदा महँगो पर्याे,’ प्रमोदले भने, ‘त्यसपछि आफूले बनाउन थालेँ ।’
नयाँ र कसैले नगरेको काम भएपछि कानुनी प्रक्रिया पूरा गर्न र खर्च पनि महँगो भयो। सन् १७३७ मा स्विस वैज्ञानिक ड्यानिएल ब्रुनोलीले हाइड्रो डाइनामिकाका सिद्धान्त प्रतिपादन गरेपछि धेरैले त्यसमै आधारित भएर बिमान बनाउने खोज्दा ज्यान र धन दुवै गुमाएका छन् । 
‘प्लेन बनाउनु नौलो र कसैले गर्न नसकेको विषयमा होइन। तर एक्लैले प्लेन बनाउनु चानचुने विषय होइन,’ प्रमोदले भने, ‘ड्यानिएल ब्रुनोलीपछि मात्रै होइन राइट दाजुभाईले पनि बिमान बनाएपछि पनि फेरि बनाउन खोज्दा धेरैले ज्यान र धन गुमाएका छन् ।’ निजी रुपमा बिमान बनाउन अमेरिकामा पाइने भए पनि निरीक्षण र अनुगमनको लामो प्रक्रिया पूरा गर्नुपर्छ । 

‘यसमा सामग्री किन्नेदेखि निर्माणको प्रत्येक चरणमा अनुगमन हुनेगर्छ । कुन चरणमा काम भयो, कुन कम्पनीका कस्तो सामान प्रयोग गर्याे भनेर अनुगमन हुन्छ,’ प्रमोदले भने, ‘इन्जिनमा प्रयोग हुने सिरिएल नम्बर सरकारमा दर्ता गरिएको हुन्छ ।’ सातामा तीन दिन हुने विदाको समयमा प्रमोदको बासै घरका ग्यारेजमा हुन्थ्यो । 
‘दैनिक १२ देखि १७ घण्टासम्म काम गरेँ । प्रत्येक चरणका कामलाई कसरी सम्पन्न गर्ने भनेर अरु बेलामा पनि सोच्थेँ । त्यसैअनुसार विषय खोजेर पढ्ने र युट्युवमा हेर्ने गर्थेँ’ उनले सुनाए, ‘डेढ वर्षसम्म फेसबुक र ट्विटर केही चलाइनँ । अफिस गएर आउने र प्लेन बनाउने विषय बाहेक अरू केही गरिनँ। एक प्रकारका तपस्या जस्तै थियो ।’
बनाउन थालेदेखि पहिलो उडान भर्दासम्मको समय डेढ वर्ष भन्दा बढी लागेको थियो । उडान अनुमतिका लागि सरकारी निरीक्षण हुने भयो । ’दुई सरकारी प्राविधिकहरुले दुई चरणमा आठआठ घण्टाका दरले प्रत्येक पार्टपुर्जा र बनाएको तरिका समेतको अध्ययन गरे । त्यसपछि बल्ल एयर वार्दिनेस सटिर्पिmकेट र टेल नम्बर प्राप्त दिए ।’ 
कन्ट्रोल टावरले प्लेनको टेल नम्बर नै सोध्ने हो । २०७५ जेठ ३१ प्रमोदले बनाएको प्लेन डियर भ्याली विमानस्थलबाट पहिलो पटक उडेको थियो । प्लेन निर्माणमा डेढ लाख अमेरिकी डलर खर्च भएको उनले सुनाए । ‘त्यसमा मेरो मिहिनेत रकम जोडिएको छैन,’ प्रमोदले भने । अहिलेसम्म प्रमोदको प्लेनले ४० घन्टा उडान गरिसकेको छ ।
‘भर्खरै मात्र नेपालबाट आइपुग्नु भएका महावीर पुन दाईलाई पनि मैले बनाएको प्लेनमा ४५ मिनेट चढाएर पुरै फिनिक्स शहर घुमाएँ,’ प्रमोदले भने, ‘म बाहेक मेरो प्लेन चढ्ने उहाँ नै पहिलो व्यक्ति हुनुहुन्छ ।’ 
पुनले फिनिक्स शहरमा प्रमोदसँग उड्दै गरेको र शहरका तस्विर हाल्दै उनको कामको प्रसंसा गरेका छन् । ‘फिनिक्स एरिजोनामा नेपाली भाई प्रमोद रेग्मीले पाटपुर्जा किनेर आफ्नै घरमा बनाएको र अमेरिकी सरकारबाट उडान स्वीकृति पाएको हवाइ जहाज चढियो’, पुनले फेसबुकमा लेखेका छन्, ’यस्तै किसिमको हवाईजहाज नेपालमा पनि बनाउने, उडाउने र त्यससम्बन्धी तालिम केन्द्रहरु खोल्यो भने धेरै फाइदा हुन्छ ।’
करिब डेढ वर्ष लगाएर आफैँले निर्माण गरेको त्यो सानो निजी विमान लिएर अहिले प्रमोद घुमफिरमा निस्किन्छन् । यो विमान चढेर उनले अमेरिका चार राज्यको सयर गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस