सशस्त्र प्रहरीलाई नेता र कारागारको सुरक्षामा होईन, प्रष्ट क्षेत्राधिकार तोकेर सीमामा पठाऔं : रघुजी पन्त

सफल खबर संवाददाता

बुधबार, १६ साउन २०८१, १४ : २३
सशस्त्र प्रहरीलाई नेता र कारागारको सुरक्षामा होईन, प्रष्ट क्षेत्राधिकार तोकेर सीमामा पठाऔं : रघुजी पन्त

काठमाडौं । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा मात्रै केन्द्रीत गराउनुपर्ने बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै उनले सशस्त्र प्रहरीले सीमा क्षेत्रको सुरक्षाका सन्दर्भमा राम्रो काम गरिरहेको भन्दै स्पष्टरुपमा कार्यक्षेत्र निर्धारण गर्न आवश्यक रहेको बताएका हुन् ।

उनले सशस्त्र प्रहरीलाई नेताको सुरक्षा र कारागारको सुरक्षामा राख्न नहुने बताए । ‘सशस्त्र प्रहरीलाई नेताहरुको सुरक्षा र कारागारको सुरक्षामा लगाउनेभन्दा यसलाई सीमा सुरक्षामा केन्द्रीत गरौं । भारतमा त बीएसपी छ । हाम्रोमा पनि कार्यक्षेत्र प्रष्ट डिफाइन गरौं,’– नेता पन्तले भने ।

साथै, उनले नेपालका नेताहरु पनि सुध्रिन आवश्यक रहेको बताए । थ्रेट भएका भन्दा बाहेक अरु नेताहरुले प्रहरी अघिपछि लगाएर हिँड्न आवश्यक नरहेको उनको भनाइ छ । नेता पन्तले अरु देशका राष्ट्रपति, उपराष्ट्रपतिहरुले विमानस्थलमा आफ्नो सुड्केस आफैं लिएर हिँड्ने गरेको बताउँदै नेपालका नेताहरुले राज्यको सुरक्षा निकायको दुरुपयोग गर्न नहुने बताए ।

‘राजनीतिज्ञहरुको सुध्रिनुपर्यो । म पनि मन्त्री भएकै हुँ । तीन चोटी सांसद भएँ, दुई पटक प्रधानमन्त्रीको सल्लाहकार भएँ । हामी राजनीतिज्ञहरु थ्रेट भएका जतिले सेक्युरेटी लिउँ । हामी एकचोटी मन्त्री हुँदैमा पुलिस पछाडि लगाएर हिँड्नुको औचित्य के छ ? यो हामी आफैंले आफैंलाई सोध्ने प्रश्न हो । हामीले गरेको कामबाट जनतासँग अलोकप्रिय छौं । कुनै पनि बेला आक्रमण हुनसक्छ । त्यसकारणले हामीलाई सुरक्षा चाहियो भनेको हो ?’ उनले प्रश्न गरे ।

साथै, उनले उग्रहिन्दुत्वको नाममा हुने गतिविधि रोक्न र विदेशी लगानीमा बन्ने गरेका चर्चहरुमाथि पनि निगरानी बढाउन उनले आग्रह गरेका छन् । राज्यले कुनै पनि धर्मलाई संरक्षण र विभेद गर्न नहुने बताउँदै उनले धर्म प्रचार प्रसारका गतिविधिमा कडाइ गर्नुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस