आज ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक

सफल खबर संवाददाता

बुधबार, १६ साउन २०८१, ११ : १३
आज ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत २१ दिनका लागि ४० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो । 

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज मध्यान्ह ३ बजेसम्म अनलाइन आवदेन दिन सक्नेछन् । पछिल्लो समय बैंकहरुमा निक्षेप बढ्दै गएको तर निक्षेपको तुलनामा कर्जा लगानी हुन नसक्दा बैंकहरुमा लगानी योग्य पुँजी थुप्रिरहेको छ । 

केन्द्रीय बैंकको तथ्याङ्कअनुसार साउन १३ गतेसम्म बैंकहरुको निक्षेपको आकार ६४ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ भने यता कर्जा लगानी जम्मा ५१ खर्ब ४० अर्ब रुपैयाँ बराबर मात्र हुन सकेको छ । 

समीक्षा अवधिमा सीडी रेसियो (कर्जा/निक्षेप अनुपात) जम्मा ७८.४७ प्रतिशत मात्र कायम गरेका बैंकहरुसँग ७ खर्बमाथि तरलता रहेको छ । यसले गर्दा पनि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण अर्थात् रिभर्सरिपो मार्फत निरन्तर तरलता प्रशोचन गरिरहेको छ । 

बजारमा तरलता अभाव हुँदा केन्द्रीय बैंकले रिपोमार्फत तरलता प्रवाह गर्नेगर्छ भने अधिक तरलता हुँदा रिभर्सरिपो मार्फत प्रशोचन गर्ने गर्छ । 

 

प्रतिक्रिया दिनुहोस