राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब निक्षेप उठाउने

सफल खबर संवाददाता

बुधबार, १० बैशाख २०८२, ११ : ३७
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब निक्षेप उठाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट बुधवार ३५ अर्ब रुपैयाँ खिच्ने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज रकम उठाउन लागेको हो । राष्ट्र बैंकले २१ दिनका लागि आजै दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बोल गर्न सकिने रकम घटिमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ । सावाँ तथा ब्याज भुक्तानी वैशाख ३१ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।

निक्षेप संकलनको बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर ९दशमलव पछिको हकमा चार अंकसम्म० उल्लेख गर्नु पर्नेछ । निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।

समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी भएमा ‘प्रो–रेट बेसिस’मा बाँडफाँट गरिनेछ । आव्हान गरिएको रकममध्ये सम्पूर्ण वा आंशिक रकमको बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार समितिलाई रहनेछ । स्वीकृत भएका बोलपत्र बापतको रकम बैंकले सम्बन्धित काउण्टर पार्टीको यस बैंकमा रहेको खाता खर्च गरी लिनेछ र बैंकमा संकलित निक्षेपको अलग्गै खाता खोली जम्मा गर्नेछ ।

बोलपत्र स्वीकृत भएका काउण्टर पार्टीको खातामा सो उपकरण निष्कासन गरिने दिनमा मौज्दात पर्याप्त नभएमा त्यस्ता काउण्टर पार्टीलाई कालोसूचीमा राखी पछिल्ला बोलकबोलमा सहभागी हुन बन्देज लगाइनेछ । निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याजसहित संकलित निक्षेप रकम सम्बन्धित बैंकको खातामा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ ।