प्रतिनिधि सभा : विद्यालय बसको गति नियमन गर्न सुझाव

सफल खबर संवाददाता

सोमबार, १४ साउन २०८१, १४ : ५३
प्रतिनिधि सभा : विद्यालय बसको गति नियमन गर्न सुझाव

काठमाडौँ । सांसदहरुले कास्कीको पोखरा महानगरपालिका–२१ मा दुर्घटनामा परेको विद्यार्थी बोकेको स्कुल बसको विषयबारे सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा सांसद शिव नेपालीले तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको निष्कर्ष रहेको उल्लेख गर्दै विद्यालयको बसको गति सीमित तुल्याउन र नियमन गर्न सरकारलाई सुझाव दिए ।

उनले भने, “चालकले तीव्र गतिमा बस कुदाउने गर्दछन्, त्यस कारण नेपाल सरकारले कडाईका साथ विद्यालयका बसको गति सीमिततालाई कार्यान्वयन गर्न जरुरी छ ।” कास्कीको पोखरा महानगरपालिका–२१ मटिखान नजिकै एलपी देवकोटा मेमोरियल इङ्लिस बोर्डिङ स्कुलको बस आज बस दुर्घटनामा परेको थियो । दुर्घटनामा ६ वर्षीय प्रिन्स विक र ३३ वर्षीया आरती विकको मृत्यु भएको थियो ।

सांसद नेपालीले भने, “पछिल्लो समयमा सडक तथा हवाई दुर्घटना बढेको छ, उड्नेबाट यात्रा गरे शव नै नचिनिने र गुड्नेबाट यात्रा गरे शव नै नभेटिने अवस्था छ, दुर्घटना न्यूनीकरणमा सरकारको ध्यान जानुपर्छ ।”

सांसद नेपालीले बिपी कोइरालाको ‘उत्पादन र उद्यमशीलतामा जोड दिनुपर्छ’ भन्ने भनाइलाई स्मरण गर्दै नेपालमा प्रजातन्त्र तथा गणतन्त्र आए पनि तीनै तहका सरकारले सही ढङ्गबाट काम गर्न नसकेको आरोप लगाए। गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय यातायातसम्बन्धी ऐन, कानुन तथा नियमावली जारी गरे पनि सो ऐन, कानुन तथा नियमावली यातायात व्यवसायी विरुद्ध भएको उनको भनाइ थियो ।

“कानुनका कयौँ बुँदा यातायात व्यवसायीका विरुद्धमा छन्, यातायात महासङ्घ, स्थानीय समितिसँग छलफल नै नगरी ऐन ल्याएको देखिन्छ,” सांसद नेपालीले भने । सांसद रोशन कार्कीले महिला हिंसाको उजुरी परेका प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानलाई कुनै पनि सरकारी निकायमा नियुक्त गर्न नहुने जिकिर गरे ।

सांसद अब्दुल खानले वर्षाका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग पुनः सञ्चालनमा ल्याउन आग्रह गरे। उनले दैलेखको आठबिस नगरपालिका–१ असारघाट नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएकाले सुर्खेतबाट माथिल्लो कर्णाली र माथिल्लो कर्णालीबाट सुर्खेततर्फ आवतजावत गर्ने यात्री अलपत्र परेको सदनलाई जानकारी गराए ।

सांसद खानले कास्कीको पोखरामा भएको स्कुल बस दुर्घटनामा परेका विद्यार्थीको उपचारमा ध्यान दिन सरकारसँग माग गरे । उनले हवाई तथा सडक यातायात असुरक्षित बन्दै गएकामा चिन्ता व्यक्त गर्दै सुरक्षित यात्राको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद डा.अमरेशकुमार सिंहले पछिल्ला दिनमा सडक दुर्घटना बढ्दै गएको भन्दै सडक पूर्वाधारको गुणस्तरमाथि प्रश्न उठेको टिप्पणी गरे ।