मृत्युका घटनामाथि छानबिन भइरहँदा जापानी औषधि कम्पनीका दुई अधिकारीले दिए राजीनामा

सफल खबर संवाददाता

मंगलबार, ०८ साउन २०८१, १४ : ४०
मृत्युका घटनामाथि छानबिन भइरहँदा जापानी औषधि कम्पनीका दुई अधिकारीले दिए राजीनामा

टोकियो । जापानी औषधि निर्माता कम्पनी कोबायाशी फर्मास्युटिकलका दुई शीर्ष अधिकारीले राजीनामा दिएका छन् । कम्पनीका केही उत्पादनको सेवनका कारण ८० भन्दा धेरै बिरामीको मृत्यु भएको मामिलामा अनुसन्धान जारी रहँदा कम्पनीको प्रेसिडेन्ट आकिहिरो कोबायाशी र चेयरम्यान काजुमासा कोबायाशीले राजीनामा दिएका हुन् ।

यी दुवै कम्पनीको संस्थापक परिवारका सदस्य हुन् । बेनी कोजी फर्मेन्टेड राइस प्रडक्टको सेवनका कारण मृत्यु भएको मामिलामा कार्यकारी जबाफदेहिता स्पष्ट पार्न सो निर्णय गरिएको कम्पनीले भनेको छ ।

उक्त प्रडक्ट खाएपछि उपभोक्ताहरूको मिर्गौलामा समस्या देखिएको खबरहरू आएपछि मार्चमा कम्पनीले पाँच ओटा प्रडक्टलाई बजारबाट फिर्ता बोलाएको थियो । एक जना डाक्टरले जनवरीमै ती प्रडक्ट सेवनका कारण स्वास्थ्यमा समस्या देखिएको भनेर सतर्क गराएपछि कम्पनीले अनुसन्धान थालेको थियो ।

यस मामिलामा सल्लाह सुझाव खोज्ने उपभोक्ताका लागि कम्पनीले हटलाइन पनि सुरु गरेको थियो । प्रभावित उपभोक्ताहरूले पिसाबको रङ्ग फेरिएको, हात खुट्टा सुन्निएको र थकान महसुस भएको भन्दै गुनासा गरेका थिए ।

कम्पनीको एउटा कारखानामा ढुसीका कारण ती खाद्य वस्तुमा विषाक्त एसिड बनेको अनुसन्धानका क्रममा भेटिएको थियो । यस घटनाप्रति कम्पनीले उपभोक्ता र व्यवसायीक साझेदारहरूसँग माफी माग्दै मृतकका परिवारमा गहिरो समवेदना व्यक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस