ट्रम्प देशका लागि खतरा हुन् : राष्ट्रपति बाइडेन

सफल खबर संवाददाता

मंगलबार, ०८ साउन २०८१, १४ : १९
ट्रम्प देशका लागि खतरा हुन् : राष्ट्रपति बाइडेन

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको निर्वाचनमा आफ्नो उम्मेदवारी फिर्ता लिएर सबैलाई अचम्मित बनाएका छन् । आफ्नो यो निर्णयलाई उनले एकदम सही भनेका छन् ।

आफ्नो ठाउँमा बाइडेनले उप–राष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेका छन् । ह्यारिसको पक्षमा धुँवाधार प्रचार गर्ने पनि उनले बताए । बाइडेनले आफ्ना समर्थकहरूलाई आफूलाई गरेको जस्तै समर्थन ह्यारिसलाई गर्न पनि अनुरोध गरे । चुनाव प्रचार प्रसार अभियानको नाम फेरिएको भएपनि मिसन उही रहेको र आफूहरूको मिसन डोनल्ड ट्रम्पलाई हराउनु भएको पनि उनले बताए ।

आफूलाई कोरोना नभएको भए उम्मेदवारी नछाड्ने अनि चुनावी प्रचार प्रसार टिमको साथमा उभिएको हुन्थेँ भनेर पनि उनले बताए । आफ्ना लागि अहिलेसम्म टिमले गरेको कामप्रति आफूलाई गर्व भएको पनि उनले बताए । कोभिडका कारण अझै तीन चार दिनसम्म आफूले मान्छेलाई भेट्न नसक्ने भएपछि छिट्टै आफू आम जनताको बीचमा आउने उनको भनाइ छ ।

बाइडेनले चुनावी प्रचार प्रसार टिमलाई ह्यारिसलाई दिलै देखि समर्थन गर्न र एक जुट भएर ट्रम्पलाई हराउन पनि आग्रह गरेका छन् । ह्यारिस उत्कृष्ट भएको पनि उनले बताए। उम्मेदवारी छाड्ने आफ्नो निर्णय धेरैका लागि छक्कै पार्ने खालको भएपनि आफ्नो निर्णय सही भएकोमा उनले जोड दिएका छन् । 

चुनाव प्रचारको अभियानको नाम फेरिए पनि मिसन उही रहेको र आफूले जमेर ह्यारिसको प्रचार गर्ने पनि उनले बताए । ट्रम्प  समुदाय र देशका लागि खतरा भएको र उनी खतराको रूपमा रहिरहेको पनि उनले भनेका छन् ।

बाइडेनले चिठ्ठी लेखेर आइतबार अचानक उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका थिए । बाइडेनको उमेर, मानसिक स्वास्थ्य लगायत विषयका कारण डेमेक्रेटिक पार्टी भित्रैबाट उम्मेदवारी छाड्न चरम दबाब आइरहेकै समयमा बाइडेनले सो निर्णय गरेका थिए । पार्टीका कयौँ ठुला नेता र कार्यकर्ताहरूले  समेत बाइडेनलाई चुनावी दौड छाड्न अनुरोध गरिरहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस