ग्लोबल टी-२० खेल्न सन्दीप लामिछाने क्यानडा प्रस्थान

सफल खबर संवाददाता

सोमबार, ०७ साउन २०८१, १२ : ४६
ग्लोबल टी-२० खेल्न सन्दीप लामिछाने क्यानडा प्रस्थान

काठमाडौं । ग्लोबल टी २० लिग खेल्न नेपालका स्टार सन्दीप लामिछाने आज क्यानडा प्रस्थान गरेका छन् । यस प्रतियोगिताको नयाँ संस्करण आउँदो बिहीबार सुरु हुँदैछ । ग्लोबल टी २० मा यसपालि सन्दीपसँगै नेपालका थप दुई खेलाडी दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेल पनि सहभागी छन् । सन्दीप र दीपेन्द्र एउटै टिम भ्यान्कुभर नाइट्सका सदस्य हुन् । रोहितलाई भने टोरन्टो नेसनल्सले अनुबन्ध गरेको छ । दीपेन्द्र र रोहितभन्दा अगाडि नै सन्दीप क्यानडा लागेका छन् ।

यतिबेला भ्यानकुभर नाइट्सको सम्भावित कप्तानका रूपमा पनि सन्दीपको चर्चा सुरु भएको छ । भ्यान्कुभरले पाकिस्तानी खेलाडी मोहम्मद रिजवानलाई कप्तान बनाएको थियो । तर, पाकिस्तानी क्रिकेट बोर्डले रिजवान र सोही टिमका ब्याट्सम्यान बाबर आजमलाई अनुमति नदिएपछि उनीहरूले यो प्रतियोगिता खेल्न नपाउने भएका छन् । पाकिस्तानी राष्ट्रिय टीमको व्यस्त तालिकाका कारण खेलाडीहरूलाई बोर्डले अनुमति नदिएको हो ।

रिजवान सहभागी हुन नपाउने भएपछि भ्याकुभर नाइट्स कप्तानविहीन बनेको छ । अहिलेसम्म टीमका तर्फबाट यस विषयमा कुनै पनि औपचारिक सूचना वा जानकारी गराइएको छैन । प्रतियोगिता सुरु हुन तीन दिन मात्रै बाँकी भएकाले तत्काल अर्को कप्तान नियुक्त गर्नुपर्ने छ । यही भएर सन्दीपलाई चाँडै बोलाइएको अनुमान गर्न सकिन्छ ।

सन्दीप भ्यानकुभर नाइट्सका प्रमुख खेलाडीमा पर्छन् । साथै, अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटका अनुभवी पनि हुन् । उनले अधिकांश देशमा आयोजना हुने टी २० लिग खेलिसकेका छन् । साथै, केही समय नेपालको राष्ट्रिय टिमको समेत नेतृत्व गरेका थिए । यही भएर सन्दीपलाई भ्यानकुभर नाइट्सको सम्भावित कप्तानको रूपमा समेत हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस