कांग्रेसले माग्यो उपसभामुखको राजीनामा

सफल खबर संवाददाता

आइतबार, ०६ साउन २०८१, १४ : ००
कांग्रेसले माग्यो उपसभामुखको राजीनामा

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरको राजीनामा माग गरेको छ। आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपसभामुख राना मगरले पदको चरम दुरूपयोग गरेको भन्दै तत्काल राजीनामा दिनुपर्ने माग गरे।

उपसभामुखले गैर सांसदलाई अमेरिका जान लागेका लागि भीसाका डेट चाँडो राखिदिन अमेरिकी दूतवासलाई पत्राचार गरेको थिइन्। तर दूतावासले भीसा दिएको थिएन। यद्देपि रकम लिएर अमेरिका जान नपाएको भन्दै पीडित व्यक्तिले रास्वपा समक्ष गुनासो राखेपनि विषयलाई गुपचुप राखेको थियो। केही दिनअघि उपसभामुखले दूतावासलाई गरेको पत्र सार्वजनिक भएपछि यो विषय बहसमा आएको हो। सोही विषयलाई लिएर कांग्रेस सांसद खतिवडाले आज संसदमा बोलेका हुन्।

 'केही दिनपहिला २६ फेब्रुअरी २०२३ मा संसदको उपसभामुखको नामबाट एउटा चिठी लेखिएको रहेछ। संसदसँग कुनै साइनो नभएका पाँचजना मान्छे मानव तस्करले प्रयोग गरेर अमेरिका भीषाका अन्तरवार्ताका लागि प्रयोग गरिएको पत्र प्राप्त भयो। यस्तो अवस्थामा उपसभामुखले संसदको कमाण्ड  गर्न मिल्छ कि मिल्दैन ?,'उनले प्रश्न गरे।

सांसद खतिवडाले संसदसँग सम्बन्धित नभएका व्यक्तिलाई सिफारिस गरिनुले देशको अपमान भएको भन्दै  उपसभामुखले तत्काल राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने बताए।

उनले संसद भीषा सहजीकरणको कन्स्ल्टेन्सी नहुने भन्दै यो विषयमा तत्काल छानबिन हुनुपर्नेमा जोड दिए।  उनले भने,' संसद भीषा सहजीकरणको कन्स्ल्टेन्सी र उपसभामुखको  कार्यालय हुन सक्दैन।  के कसो भएको हो तत्काल छानबिन होस्।'