कैलालीका ३ लाख ८३ हजार पशु चौपायालाई लगाइयो खोप

सफल खबर संवाददाता

शनिबार, ०५ साउन २०८१, १२ : ४२
कैलालीका ३ लाख ८३ हजार पशु चौपायालाई लगाइयो खोप

कैलाली। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीले तीन लाख ८३ हजार सात सय पशु चौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाएको छ ।विज्ञ केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका १३ वटै स्थानीय तहका भैँसी, राँगा, गाई-गोरु, बाख्रालगायत पशु चौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाएको हो ।

एक लाख ४१ हजार छ सय गाई-गोरु र भैँसी र राँगालाई खोरेतविरुद्धको खोप तथा एक लाख ९६ हजार भेडा बाख्रालाई पीपीआर खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डा. हेमराज अवस्थीले जानकारी दिए ।

उनका अनुसार २१ हजार एक सय बङ्गुरलाई क्लासिकल स्वाइन फिवर, १० हजार गाई-गोरुलाई लम्पीस्किनविरुद्धको खोप र १५ हजार स्थानीय जातका कुखुरालाई रानीखेत खोप लगाइएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा दुई लाख ४१ हजार खोरेतविरुद्धको खोप, एक लाख ७० हजार पीपीआर, २५ हजार क्लासिकल स्वाइन फिवर, २३ हजार लम्पीस्किनविरुद्धको खोप र एक लाख रानीखेत खोप लगाउने लक्ष्य छ । 

 

 

 

 

 

 

 

'हामीले पाँच लाख ५९ हजार पशुचौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाउने लक्ष्य राखेका थियौँ । तर लक्ष्यमा पुग्न सकिएन,' उनले भने, 'खोपका लागि मौसम पनि उपयुक्त चाहिन्छ । किसानको समय पनि मिल्नुपर्छ । यी यावत् कारणले खोप लक्ष्यमा पुग्न नसकेको हो ।'

खोप कार्यक्रम सञ्चालन गर्न जिल्लाभरि ६५ जना पशु प्राविधिक खटिएको प्रमुख डा. अवस्थीको भनाइ छ ।आव २०७९/८० मा विज्ञ केन्द्रले जिल्लाका सबै स्थानीय तहका पाँच लाख ५३ हजार तीन सय ९१ पशु चौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस