काभा यु-२० वुमन्स भलिबल खेल्न नेपाली टोली उत्साहित

सफल खबर संवाददाता

बुधबार, ०२ साउन २०८१, १२ : ०८
काभा यु-२० वुमन्स भलिबल खेल्न नेपाली टोली उत्साहित

माले । पहिलोपटक काभा यु-२० वुमन्स भलिबल च्याम्पियनसिप खेल्न माल्दिभ्स आइपुगेको नेपाली यु-२० महिला टोली प्रतियोगिताका लागि उत्साहित छन् । बिहीबारदेखि माल्दिभ्सको राजधानी मालेका हुने प्रतियोगितामा नेपाल र माल्दिभ्ससहित चार राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । त्यसका लागि नेपाल, श्रीलंका र कीर्गिस्तानको टोली मंगलबार नै माले आइपुगिसकेको छ ।

नेपाली टोलीका प्रशिक्षक र खेलाडी पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न उत्साहित भएका छन् । ‘हामी सबै खेलाडी एकदमै उत्साहित छौं । पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न विदेश आएका छौं,’ कप्तान जेनिशा विश्वकर्माले भनिन् ।

यस्तै नेपालमा महिला भलिबल खेलाडी उत्पादन गर्दै आएका दुई प्रशिक्षक कुमार राई र अर्जुन घिमिरे नेपाली टोलीको प्रशिक्षकमा छन् । राईले न्यू डायमण्डमार्फत र घिमिरे बुटवलको एभरेष्ट स्कुलमार्फत महिला भलिबल खेलाडीहरु उत्पादन गर्दै आएका छन् ।

हाल १२ सदस्यीय नेपाली टोलीमा न्यु डायमण्डका ६ र एभरेष्टका ४ खेलाडी छन् । यस्तै त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबाट खेल्ने एक-एक खेलाडी छन् । उनीहरू सबै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछन् र त्यो पनि विदेशी भूमिमा खेल्दैछन् । जसले गर्दा खेलाडीमा अझ धेरै उत्साह छ ।

नेपाली टोलीमा रहेका १२ खेलाडीसँग नै घरेलु भलिबलमा सिनियर स्तरको प्रतियोगिता खेलेको अनुभव छ । जसले गर्दा जुनियर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा त्यो अनुभवलाई सदुपयोग गर्ने योजनामा छन् ।

‘मेरो दुई दशक लामो करियरमा पहिलोपटक राष्ट्रिय टिम लिएर विदेश आएको छु । हामी सबै जना एकदमै उत्सहित छौं,’ मुख्य प्रशिक्षक कुमार राईले भने, ‘हामी यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नेछौं ।’

यस्तै प्रशिक्षक अर्जुन घिमिरेले पनि प्रतियोगितालाई लिएर उत्सहित भएको बताए । खेलाडीहरु सबै पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न उत्साहित छन् । उनले भने, ‘उमेर समूहको खेलाडीका लागि यो राम्रो अवसर हो । यसबाटै अन्तर्राष्ट्रिय अनुभव लिन पाउनेछ र भविष्यमा राष्ट्रिय टिमसम्मको यात्रा तय गर्ने अवसर पाउनेछन् ।’

प्रतिक्रिया दिनुहोस