बेन्जामिन जेन्ड /बीबीसी
अष्ट्रेलियाको उत्तरमा रहेको पपुआ न्यू गिनीलाई महिलाका लागि संसारको सबैभन्दा खतरनाक देशमध्येको एक बताइएको छ । केही अनुमानले पपुआ न्यू गिनीमा ७० प्रतिशत महिला उनीहरुको जीवनकालमा बलात्कार हुने वा कुनै किसिमको यौनहिंसाको शिकार हुनुपर्ने बताउँछ ।
बीबीसीले पपुआ न्यू गिनीको राजधानीमा पोर्ट मोरेस्बीको भ्रमण गरेर यस्ता व्यक्तिसँग भेट गरेको छ जसले महिलामाथि हुने हिंसालाई पुष्टि गरेका छन् । यो यात्रामा हाम्रो भेट केही यस्ता महिलासँग पनि भयो जसले भने, ‘अब त अत्ति भइसक्यो ।’
पपुआ न्यू गिनी बस्नका लागि सबैभन्दा असुरक्षित देशको सूचीमा समावेश छ जहाँ घरेलु हिंसा र बलात्कारको रेट सबैभन्दा धेरै छ । तर यहाँ सबैभन्दा चिन्ताको विषय के छ भने बलात्कारका केही सिमित आरोपीलाई मात्र सजायँ दिइन्छ । एक बरिष्ठ पुलिस अधिकारीका अनुसार जनवरीदेखि सन् २०१८ को मेबीच घरेलु हिंसा र बलात्कारको कम्तिमा ६ हजार मामला दर्ता भए ।
उनले भने, ‘यी भए दर्ता गरिएका घटना । तपाईंले सोच्न सक्नुहुन्छ कि यस्ता कति घटना होलान् जुन दर्ता गरिएनन् । धेरैजसो मामला यसकारण दर्ता हुँदैनन् किनभने यहाँका कुनैपनि मानिसलाई सोध्नुहोस्, उनीहरुले भन्नेछन् बलात्कार त साधारण कुरा हो । कसैकी प्रेमिका, श्रीमती वा साथी यौनहिंसाको शिकार हुनु निकै साधारण कुरा हो ।’
सबैभन्दा सजिलो शिकार महिलाः
पपुआ न्यू गिनीमा स्थानीय बदमासलाई ‘रास्कल’ भनिन्छ । उनीहरुमाथि सबैभन्दा धेरै बलात्कारको आरोप लागेको छ । उनीहरुका अनुसार कुनै महिलालाई सामूहिक बलात्कार पपुआ न्यू गिनीको ग्यांगले दैनिक रुपमा गर्ने साधारण गतिविधीमा पर्ने गर्छ । यसबारे उनीहरु निकै खुल्ला रुपमा कुरासमेत गर्छन् । उनीहरुलाई क्यामरा र पुलिससँग कुनै डर लाग्दैन ।
एक ‘रास्कल’ ले बीबीसीलाई भने, ‘यहाँ महिला सबैभन्दा सजिलो शिकार हुन् । उनीहरुलाई लुट्न सबैभन्दा सजिलो हुन्छ । उनीहरुलाई पिट्न सजिलो हुन्छ । सडकमा यदि तपाईं कुनै महिलालाई कुट्नुहुन्छ भने त्यसको कसैले पनि विरोध गर्दैन । यो निकै साधारण कुरा हो ।’
प्रत्येक सेकेन्ड भयः
पोर्ट मोरेस्बी शहरमा यदि तपाईं कुनै महिलालाई नियालेर हेर्नुहुन्छ भने उनीहरुको ‘सतर्क नजर’ ले स्पष्ट बताउँछ कि उनीहरु निरन्तर खतरामा बाँचिरहेका छन् । शहरमा महिलाविरुद्ध हिंसाका यति घटना हुन्छन् कि यहाँको सरकारले ‘सेफ हाउस’ नामको घर स्थापना गर्नुपर्छ ।
एक सेफ हाउसमा हाम्रो भेट सुजेनसँग भयो जो दुई महिनादेखि आफ्नो बच्चासँग यहाँ बसिरहेकी छिन् । सन् २००० मा उनको विवाह भएको थियो । १८ वर्षसम्म निरन्तर घरेलु हिंसाको शिकार भएपछि सुजेनको हिम्मतले जवाफ दियो ।
सुजेनले भनिन्, ‘उसले मलाई अत्ति नै कुट्थ्यो । उसले यसै वर्ष बञ्चरोले मेरो हात चिरिदियो । मैले ३५ टाँका लगाउनुपर्यो । उसले मलाई कुटिराख्ने भएकाले निकै डराएर मैले घरको दोस्रो तल्लाबाट हाम फालें । त्यतिबेला मेरो दाहिने खुट्टा भाँच्चिएको थियो ।’ सुजेनका अनुसार उनका श्रीमानले उनलाई आफ्नो ‘सम्पत्ति’ ठान्थे जसका कारण परिवारले पनि उनीमाथि भइरहेको हिंसालाई रोक्न सक्दैनथे ।
सेफ हाउसको कल्चरः
मेरिसाले पनि ‘सेफ हाउस’ मा शरण मागेकी थिइन् । तर नियम अनुसार यहाँ बस्नका लागि उनको उमेर धेरै भयो । सेफ हाउसकी संयोजकले उनलाई नियमको बाध्यताबारे सम्झाएपछि मेरिसा त्यहाँबाट फिर्ता भइन् ।
मेरिसाले बीबीसीसँगको कुराकानीमा भनिन्, ‘मेरो ज्वाईंले मलाई बेल्टले पिट्छन् । उनी मसँग यौनसम्बन्ध स्थापित गर्न चाहन्छन् जसको म प्रतिकार गर्छु । मलाई घर फर्किन डर लागिरहेको छ । उसले आफूसँग चक्कु राख्छ । उसले मेरी छोरीलाई पनि धेरै नै कुट्छ ।’ मेरिसाका अनुसार ती ज्वाईंले उनका अन्य दुई छोरीको पनि बलात्कार गरेका छन् । तर उनको परिवारलाई पुलिसले केही सहयोग गरेको छैन ।
कानूनको सहयोगः
पाँच वर्ष अघिमात्र पपुआ न्यू गिनीमा ‘फ्यामिली प्रोटेक्शन एक्ट’ बनाइएको छ । उक्त नियममा भनिएको छ – घरेलु हिंसा एउटा अपराध हो जसका लागि दुई वर्षको कैद सजायँ वा दुई हजार अमेरिकी डलर जरिवाना हुनसक्छ । यो कानूनले जेनेटजस्ता महिलालाई हौसला बढाएको छ जसले केही दिन अघिमात्र घरेलु हिंसाका कारण आफ्नो घर छोडेकी थिइन् ।
उनी भन्छिन्, ‘मैले आफ्नो सानो बच्चा छोडेर भाग्नुपर्यो । तर म पुलिसको मद्दत लिन चाहन्छु । पपुआ न्यू गिनीमा घरेलु हिंसाविरुद्ध मुद्दा दर्ता गर्ने घटना निकै कम छ । महिला यसबारे ऊजुरी दिँदैनन् । तर म कानूनको मद्दतले आफ्नो बच्चालाई त्यहाँबाट निकाल्न चाहन्छु ।’ पपुआ न्यू गिनीको समाज पितृसत्तात्मक हो । यहाँ घरको सबै निर्णय लिने अधिकार केवल पुरुषलाई मात्र छ ।
तर विवाहित पुरुषको यसबारे कस्तो धारणा छ ? यो जान्नका लागि बीबीसीले जेनेटका श्रीमानसँग पनि कुरा गर्यो । उनले भने, ‘म एक जागिरे व्यक्ति हुँ । स्कूलमा पढाउँछु । मैले किन हिंसा गर्थे होला । जेनेटले मलाई थप्पड हानेकी थिइन् त्यसपछि मात्र मैले उनीमाथि हात उठाएको हुँ । मैले उनको अनुहारमा एक मुक्कामात्र त हानेको थिएँ ।’
जेनेटका श्रीमानका अनुसार उनकी श्रीमतीको रवैया ठिक छैन । तर खराब रवैयाको अर्थ के हो ? यसको जवाफमा उनले भने, ‘उसले मेरो कुरै सुन्दिन । उसलाई जे मन लागेको छ त्यही गर्छे । उसले बच्चालाई दुधसमेत पिलाउन सक्दिन । घरको कुनै पनि काम उसलाई आउँदैन । उसले मलाई भड्काउँछे र त म हिंसा गर्न बाध्य हुन्छु ।’
उक्त कुराकानीको केही समयपछि जेनेटका श्रीमान् पक्राउ परे । जेनेटले आफ्नो बच्चालाई भेटिन् र केही दिनपछि नै परिवारले भनेपछि श्रीमानमाथि लगाएको सम्पूर्ण आरोप फिर्ता लिइन् । बीबीसीले पोर्ट मोरेस्बी शहरको बाहिरी इलाकास्थित पपुआ न्यू गिनीको सबैभन्दा ठूलो बोमाना जेलको समेत यात्रा गर्यो ।
यहाँका कैदीका वयस्क र नाबालिगको एक समूहलाई हामीले भेट्यौं । २७ जनाको यो समूहमा १२ पुरुषमाथि बलात्कारको आरोप छ । पुलिसका अनुसार यहाँ बलात्कारको सबैभन्दा कान्छा अभियुक्त १३ वर्षका किशोर छन् । जेलमा ३९ वर्षका कैदी रुबेनसँग पनि हामीले कुराकानी गर्यौं जसमाथि १० वर्षकी किशोरीलाई बलात्कार गरेको आरोप छ ।
उनले निकै आरामपूर्वक बताए कि ती किशोरी उनको घरमा आएका थिए । उनले भने, ‘म यसलाई बलात्कार मान्दिनँ किनभने उनी मेरो घरमा आएकी थिइन् । मैले कुनै हतियार देखाएर उनीमाथि त्यस्तो गरेको थिइनँ ।’ एक पुलिस अधिकारीका अनुसार पपुआ न्यू गिनीमा बलात्कारको अधिकतम सजायँ पाँच वर्षको कैद हो र नाबालिगको मामलामा सात वर्ष । पुलिसको यो मान्छन् कि यो सजायँ बलात्कारजस्तो अपराधका लागि पर्याप्त छैन ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १७ असोज २०७५, ०८ : ४०
लेखकबाट थप