केपी ओली प्रधानमन्त्रीमा नियुक्त

सफल खबर संवाददाता

आइतबार, ३० असार २०८१, १७ : ५१
केपी ओली प्रधानमन्त्रीमा नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त्त गरेका हुन् ।

ओली चौथो पटक प्रधानमन्त्री बनेका हुन् । उनी पहिलो पटक २०७२ असोज २५ गते प्रधानमन्त्री बनेका थिए भने दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए । त्यस्तै उनी तेस्रो पटक २०७८ बैशाख ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

यस अघि शुक्रबार राति नेपाली कांग्रेसको समर्थनमा ओलीले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी पेश गरेका थिए । कांग्रेस र एमालेका १६६ सांसदको हस्ताक्षरसहित ओलीले प्रधानमन्त्रीमा दाबि पेश गरेका थिए । 

तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुक्रबार नै संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो । त्यसपछि राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन लिएर सरकार बनाउन दाबि पेश गर्न आइतबार ५ बजेसम्मको समय दिएका थिए ।

ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि अब शपथ भने सोमबार बिहान ११ बजे हुने भएको छ । राष्ट्रपतिको कार्यालयले सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको शपथ गर्ने गरी तयारी गरेको छ ।
ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि कांग्रेस र एमाले सोमबार बिहाननै मन्त्रीहरुको पनि शपथ गराउने तयारीमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस