काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल र राष्ट्रिय एकताको भावनात्मक केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् । भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै विश्वभरका सम्पूर्ण नेपाली भाषीहरूबिच भाषिक एकता कायम हुन सकेको तथ्यलाई मनन गर्नुपर्ने उनले उल्लेख गरे ।
आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्तीका अवसरमा राष्ट्रपति पौडेलले आज शुभकामना सन्देश जारी गर्दै आदिकवि भानुभक्तले अत्यन्त सरल, शिष्ट र रोचक ढङ्गले नेपाली भाषामा अनुवाद गरेको वाल्मीकि रामायण सबै नेपालीको जनजिब्रोमा बसेको हुँदा हिमाल, पहाड र तराईका सबै नेपालीबिच भावनात्मक एकता अभिवृद्धि गर्न यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । भानुभक्तीय रामायण नेपालका विभिन्न जातजातिलाई एकताको सूत्रमा बाँध्ने महत्त्वपूर्ण रचना रहेको उनको भनाइ छ ।
नेपाली भाषाको समुन्नयनबाट अन्य मातृभाषाको संवर्द्धनमा टेवा पुग्ने हुँदा सबै भाषाभाषी समुदायबिच सिर्जनाको महत्त्व बुझेर आ–आफ्नो भाषाको संरक्षण र संवर्द्धनका निम्ति समर्पित हुन राष्ट्रपति पौडेलले शुभकामनामार्फत आह्वान गरे । भानुभक्तले नेपाली भाषालाई काव्य भाषाका रूपमा समुन्नत तुल्याउन र नेपाली भाषा, साहित्य एवं संस्कृतिको संवर्द्धनमा अतुलनीय योगदान पुर्याएको उनले उल्लेख गरे ।
सबै नेपालीबिच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ होस् भन्ने राष्ट्रपति पौडेलले शुभकामना व्यक्त गरे । भानुभक्तको जन्मजयन्तीका अवसरमा नेपालभित्रका सबै जातजाति, भाषाभाषी, साहित्य र संस्कृतिप्रतिको प्रेम, सम्मान एवं संरक्षण गर्न प्रेरणा मिलोस् भन्ने उनले कामना गरे।
पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रूपमा तनहुँ जिल्लाको चुँदी रम्घामा १८७१ असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष असार २९ गतेका दिन स्वदेश तथा विदेशमा रहनुभएका नेपाली भाषा, साहित्य र संस्कृतिप्रेमीले विविध कार्यक्रम आयोजना गरी भानुजयन्ती मनाउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० असार २०८१, ०७ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण कोरियाली राष्ट्रपतिले भने- 'मेरो विरुद्धको अनुसन्धान गैरकानूनी छ'
दक्षिण कोरियाका राष्ट्रपति गिरफ्तार
चाडपर्वले प्रकृति र संस्कृतिको संरक्षणमा भूमिका खेलेका छन् : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलद्वारा चारवटा अध्यादेश जारी
राष्ट्रपतिले सिंहदरबारभित्र बनिरहेको संसद भवन अवलोकन गर्दै
महान्यायाधिवक्ताद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस