राजीनामा दिन मुख्यमन्त्री जम्कट्टेललाई एमालेको आग्रह

सफल खबर संवाददाता

मंगलबार, २५ असार २०८१, १५ : ४४
राजीनामा दिन मुख्यमन्त्री जम्कट्टेललाई एमालेको आग्रह

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा दिन नेकपा एमालेले आग्रह गरेको छ । मंगलबार एमाले बागमती संसदीय दलले विज्ञप्ति जारी गर्दै  वर्तमान सरकार स्पष्ट अल्पमतमा परिसकेकाले मुख्यमन्त्री जम्कट्टेललाई यथाशीघ्र राजीनामा दिन आग्रह गरेको हो ।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न पनि भनिएको छ । सरकार कामचलाउ हैसियतमा पुगिसकेकाले तत्काल महत्त्वपूर्ण निर्णयहरू नगर्न एमालेले भनेको छ ।

देशमा राजनीतिक स्थायित्व निर्माण गर्न केन्द्र र सम्पूर्ण प्रदेशहरूमा सहमतिको सरकार गठन गर्ने अभिप्रायले एमालेले पहलकदमी लिएको र सोही अनुसार प्रदेशमा समेत स्थायित्व सुनिश्चित गर्न सहमतीय सरकार निर्माणको वातावरण बनाउन पनि एमालेको विज्ञप्तिमा उल्लेख छ ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै सरकारमा रहेका ५ जना मन्त्रीहरूले राजीनामा पनि दिइसकेका छन् ।  

प्रतिक्रिया दिनुहोस