गायिका उषा उथुपको पतिको निधन

सफल खबर संवाददाता

मंगलबार, २५ असार २०८१, १२ : ११
गायिका उषा उथुपको पतिको निधन

कोलकाता । पद्मभूषण सम्मानित पप गायिका उषा उथुपका पति जानी चाको उथुपको सोमबार कोलकातामा निधन भएको छ । उनी ७८ वर्षका थिए । उनको आज कोलकातामा अन्तिम संस्कार गरिने छ ।

उषा उथुपका परिवारका अनुसार जानी आफ्नो घरमा टिभी हेरिरहेका थिए । त्यस क्रममा उनलाई असहज महसुस भएको थियो । लगत्तै उनलाई नजिकैको अस्पतालमा भर्ना गरिएको थियो तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । जानी चाकोको हृदयघातका कारण मृत्यु भएको चिकित्सकले बताएका छन् ।

जानी चाको उथुप गायिका उषा उथुपका दोस्रो पति थिए। उनी चिया बगान क्षेत्रमा आबद्ध थिए । उषा र जानीको पहिलो भेट ७० को दशकमा त्रिन्कासमा भएको थियो । उषा एक छोरी अञ्जली उथुप र छोरा सन्नी उथुपकी आमा हुन् ।

उषा उथुपको पहिलो विवाह रामु अय्यरसँग भएको थियो । तर विवाहको पाँच वर्षपछि पनि उनीहरूको सम्बन्ध राम्रो हुन सकेन । तर, रामुले उषालाई सङ्गीतका लागि हौसला दिए । उनी आफैँ विभिन्न ठाउँमा हुने कार्यक्रममा लैजान्थे ।

यद्यपि उनीहरुबीच श्रीमान्–श्रीमतीको सम्बन्ध थिएन । एक पटक उनी आफ्नो पहिलो श्रीमान्सँग एउटा कार्यक्रम गर्न कोलकाता गएकी थिइन्, त्यहाँ जानीसँग भेट भयो ।

प्रतिक्रिया दिनुहोस